NEB Class 12 Nepali Chapter 6 Stephen William Hawking (स्टिफन विलियम हकिङ) Exercise Questions and Answers

Get complete exercise questions and answers of Class 12 Nepali Chapter 6 ‘Stephen William Hawking (स्टिफन विलियम हकिङ)’ as per NEB new syllabus.

neb-class-12-nepali-chapter-6-stephen-william-hawking-exercise-questions-answers

NEB Class 12 Nepali Chapter 6 Stephen William Hawking (स्टिफन विलियम हकिङ) Exercise Questions and Answers

NEB Class 12 Nepali Chapter 6 Stephen William Hawking (स्टिफन विलियम हकिङ) पाठले भौतिकशास्त्री स्टिफन हकिङको जीवन, उपलब्धि र चुनौतीहरूको विस्तृत विश्लेषण प्रस्तुत गर्दछ। यसले विद्यार्थीलाई वैज्ञानिक सोच, प्रेरणा र संघर्षको मूल्य बुझ्न सहयोग पुर्‍याउँछ।

NEB Class 12 Nepali Chapter 6 presents a comprehensive biography of Stephen William Hawking, that  highlights  his extraordinary life, scientific achievements, and inspirational struggle against physical disability. 

Born in 1942 in England, Hawking overcame Amyotrophic Lateral Sclerosis (ALS) through remarkable willpower, intellect, and dedication to research. Despite severe physical limitations, he made groundbreaking contributions to theoretical physics, particularly in cosmology, black holes, and the origin of the universe. His world-famous book A Brief History of Time brought complex scientific ideas to the general public. The chapter emphasizes Hawking’s academic career at Cambridge University, his global recognition, and his warnings about nuclear war, climate change, and artificial intelligence. 

Overall, it portrays Hawking as a symbol of human resilience and intellectual excellence whose legacy continues to shape modern scientific thought.

👉 Read NEB Class 12 Nepali All Chapter Notes

स्टिफन विलियम हकिङ — सारांश 

यस अध्यायले विश्वप्रसिद्ध भौतिकशास्त्री स्टिफन विलियम हकिङको जीवन, संघर्ष, बौद्धिक योगदान र मानवीय चेतनामा उनले पुर्‍याएको प्रभावलाई व्यवस्थित रूपमा प्रस्तुत गरेको छ। शारीरिक रूपमा अत्यन्त अशक्त भए पनि दृढ इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिको बलमा असम्भव जस्तो देखिने उपलब्धि हासिल गर्न सकिन्छ भन्ने सन्देश यस अध्यायको मूल भाव हो। सन् १९४२ जनवरी ८ मा बेलायतको अक्सफोर्ड सहरमा मध्यम वर्गीय परिवारमा जन्मिएका हकिङ दोस्रो विश्वयुद्धको कठिन परिवेशमा हुर्किएका थिए। उनका आमा इसाबेल अर्थशास्त्रकी विद्वान् र बुबा प्रयाङ्क जीवविज्ञानका अध्येता थिए, जसले उनको बौद्धिक विकासमा प्रेरक भूमिका खेले।

विद्यालय जीवनमा उनी औसत विद्यार्थी मानिए पनि बाल्यकालदेखि नै जिज्ञासु, सिर्जनशील र प्रयोगशील स्वभावका थिए। यान्त्रिक वस्तुहरू खोलफाल गरी बुझ्ने, नयाँ परिकल्पना गर्ने र साथीहरूसँग मिलेर विभिन्न नमुना उपकरण बनाउने उनको बानीले भविष्यको महान् वैज्ञानिकको संकेत गरिसकेको थियो। उच्च शिक्षाको क्रममा क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गर्दै गर्दा उनलाई ‘अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस’ (ALS) नामक गम्भीर स्नायुसम्बन्धी रोग लागेको थाहा भयो। चिकित्सकले केही वर्ष मात्र बाँच्ने अनुमान गरे पनि उनले निराश नभई अध्ययन र अनुसन्धानलाई निरन्तरता दिए।

हकिङले सन् १९६६ मा क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि (PhD) उपाधि हासिल गरे र पछि त्यहीँ विद्वतवृत्ति प्राप्त गरी अनुसन्धानकर्ता बने। समयक्रममा शारीरिक अवस्था झन् कमजोर बन्दै जाँदा पनि उनी ह्विलचेयर र प्रविधिको सहायताले अनुसन्धानमा सक्रिय रहे। सन् १९७९ मा क्याम्ब्रिजको प्रतिष्ठित ‘ल्युकेसियन प्रोफेसर’ पदमा नियुक्त हुनु उनको बौद्धिक क्षमताको उच्च मान्यता थियो। श्वासनलीको शल्यक्रियापछि आवाज गुमे पनि कम्प्युटर-आधारित प्रविधिको माध्यमबाट उनले लेखन, प्रवचन र अन्तर्वार्ता जारी राखे।

वैज्ञानिक रूपमा हकिङले ब्रह्माण्डको उत्पत्ति, संरचना र भविष्यसम्बन्धी मौलिक विचार प्रस्तुत गरे। ब्ल्याकहोल, हकिङ विकिरण, क्वान्टम सिद्धान्त र समय–अवकाश (space-time) सम्बन्धी उनका अनुसन्धानले आधुनिक भौतिकशास्त्रमा नयाँ आयाम थप्यो। सन् १९८८ मा प्रकाशित उनको पुस्तक A Brief History of Time विश्वव्यापी रूपमा अत्यन्त लोकप्रिय भई विज्ञानलाई सर्वसाधारण पाठकसम्म पुर्‍याउने महत्वपूर्ण कृति बन्यो। साथै, उनले परमाणुयुद्ध, जलवायु परिवर्तन र कृत्रिम बुद्धिमत्ताजस्ता विषयमा मानव जातिलाई समयमै सचेत रहन आग्रह गरे।

व्यक्तिगत जीवनमा प्रेम, विवाह र पारिवारिक उतारचढाव भए पनि उनले कहिल्यै आफ्नो लक्ष्य र अनुसन्धानबाट विमुख भएनन्। जीवनभर उनले अनेक अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरे, जसले उनको योगदानलाई विश्वव्यापी मान्यता दियो। अन्ततः सन् २०१८ मार्च १४ मा ७६ वर्षको उमेरमा उनको देहावसान भयो। तथापि, उनका सिद्धान्त, पुस्तक र प्रेरणादायी विचारले उनलाई सदैव अमर बनाएको छ। यस अध्यायले पाठकलाई संघर्षका बीच पनि आशा, कर्म र ज्ञानको महत्त्व बुझाउँदै प्रेरित गर्दछ।

👉 Read NEB Class 12 Nepali All Chapter Notes

शब्दभण्डार

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :

विभीषिका : भय
मानसपटल : मानसिक तह
आनुवंशिक : पुर्ख्यौली
जिज्ञासा : जान्ने इच्छा
अवधारणात्मक : कुनै विषयप्रति विचारपूर्वक निश्चय गरिएको
खगोल : आकाशमण्डल
घनत्व : खँदिलोपन
कृत्रिम : बनावटी
साधना : सफल हुनका लागि कुनै काम बारम्बार गर्ने क्रिया

२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :

(क) रहनसहन, मर्यादा, सम्पर्क, शिक्षा आदिका कारणबाट मान्छेका मनमा पर्ने प्रभाव
संस्कार

(ख) स्नायुसम्बन्धी एक रोग
अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस

(ग) कलपुर्जा, दम आदिले आफैँ सञ्चालन हुने
स्वचालित

(घ) पछि सिद्ध हुन सक्ने कुराको पहिले नै मनमा गरिने अड्कल वा धारणा
परिकल्पना

(ङ) ज्ञात राशिका सहायताले अज्ञात राशि निकाल्ने प्रक्रिया
वार्महोल

(च) विद्वान्लाई जीवनयापनका लागि दिइने सावधिक आर्थिक अनुदान
विद्वतवृत्ति

(छ) पृथ्वी, अन्तरिक्ष, ग्रह, नक्षत्र आदिको वैज्ञानिक अध्ययन गर्ने शास्त्र
खगोल शास्त्र (विज्ञान)

(ज) इतिहास, विज्ञान, जीवनी आदि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित सामयिक लघु चलचित्र
वृत्तचित्र

३. दिइएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

इच्छाशक्ति
कठिन परिस्थितिमा पनि लक्ष्यमा अडिग रहन सहयोग गर्ने शक्ति नै इच्छाशक्ति हो।

योगदान
शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदानले गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ।

सिर्जनशील
सिर्जनशील सोच भएका विद्यार्थीहरूले समस्या समाधानका नयाँ उपाय खोज्न सक्छन्।

आदर्श
समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रत्येक नागरिकले आदर्श आचरण अपनाउनुपर्छ।

दाम्पत्य
विश्वास र समझदारीमा आधारित दाम्पत्य सम्बन्ध दीर्घकालीन हुन्छ।

शक्तिहीन
अवसरको अभावले गर्दा धेरै मानिसहरू आफूलाई शक्तिहीन महसुस गर्छन्।

अशक्त
अशक्त व्यक्तिहरूका लागि पहुँचयुक्त संरचना निर्माण गर्नु राज्यको दायित्व हो।

विभूषित
खेलकुदमा असाधारण सफलता हासिल गरेका खेलाडी राष्ट्रिय सम्मानबाट विभूषित भए।

४. तलका कुनै दशओटा अनुकरणात्मक शब्दको प्रयोग गरी आफ्नो विद्यार्थी जीवनको वर्णन गर्नुहोस् ।

विद्यार्थी जीवन

विद्यार्थी जीवन मेरा लागि अनुशासन र उत्साहले भरिएको समय थियो। बिहान अलार्म बज्ने बित्तिकै म जुरुक्क उठ्थें र चिटिक्क तयार भएर पढाइमा लाग्थें। कक्षामा शिक्षकको आवाज गुञ्जिँदा सबै विद्यार्थी ध्यान दिएर टुलुटुलु सुन्थ्यौँ। परीक्षा नजिकिँदा कापी पल्टाउँदा फर्फर आवाज आउँथ्यो र मनमा अलिकति डर लाग्थ्यो। खेल मैदानमा पुग्दा साथीहरूसँग हाँस्दै ठ्यापठ्याप खेल्थ्यौँ र थकान मेटिन्थ्यो। यसरी हाँसो, मेहनत र अनुभवले भरिएको विद्यार्थी जीवन आज पनि स्मृतिमा झलझली आउँछ।

बोध र अभिव्यक्ति

२. दिइएका बुँदालाई जीवनीमा उल्लेख भएअनुसारको क्रममा मिलाउनुहोस् र तिनमा उल्लेख भएका विषयवस्तुबाट मुख्य मुख्य बुँदा टिप्नुहोस् :

(क) पृष्ठभूमि

- शारीरिक रूपमा अशक्त भए पनि दृढ इच्छाशक्ति, प्रतिभा र साधनामा रमाउने व्यक्ति कहिल्यै शक्तिहीन नहुने,
- मानवहितमा समर्पित हुने र योगदानका दिने व्यक्ति सिङ्गो संसारभरि नै उदाहरणीय बन्ने,
- स्टिफन विलियम हकिङ शारीरिक रुपमा नाजुक भएर पनि प्रतिभा र निरन्तरको साधनाका कारण भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरेर सिङ्गो संसारलाई नै आश्चर्यचकित बनाउनु ।

(ख) जन्म र आमाबुबा

- हकिङको जन्म सन् १९४२ जनवरी ८ का दिन हुनु,
- आमा इसाबेल र बुबा प्रयाङ्कको पहिलो सन्तानका रूपमा जन्मनु ।

(ग) हकिङको विद्यालयीय शिक्षा

- हकिङको विद्यालयीय शिक्षाको प्रारम्भ लन्डन हाइगेटस्थित बायरन हाउस विद्यालयबाट भएको,
- अल्बान्स सहरमा सेन्ट अल्बाल्स नामको विद्यालयमा भर्ना भएका,
- आफ्नो कक्षामा कमजोर विद्यार्थीमा परेका,
- सेन्ट अल्बाल्स नामको विद्यालयबाटै विद्यालयीय शिक्षा पुरा गरेका ।

(घ) विद्यावारिधिको उपाधि

- 'अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस' रोगले हिँड्न नसक्ने भएको विषम परिस्थितिमा पनि सन् १९६६ मा क्याम्ब्रिजबाट नै विद्यावारिधि उपाधि हासिल गर्नु,
- विद्यावारिधि पूरा गरिसकेपछि क्याम्ब्रिजमा विद्वत्वृत्ति प्राप्त गरी अनुसन्धाताका रूपमा काम गर्नु,
- सन् १८६८ क्याम्ब्रिजमा खगोल अध्ययन संस्थानको सदस्य नियुक्त हुनु,
- सन् १८७८ मा गणित विषयमा ल्युकेसियन प्रोफेसर पदमा नियुक्त हुनु.

(ङ) क्याम्ब्रिजमा खगोल अध्ययन संस्थानको सदस्यमा नियुक्ति

- ह्विलचेयरको सहारामा उनी आफ्नो विभाग गएर आफ्नो कामलाई निरन्तरता दिँदै उनले एकपछि अर्को सफलता चुम्दै जानु ।

(च) क्याम्ब्रिजकै प्रसिद्ध पद 'ल्युकेसियन प्रोफेसर' मा नियुक्ति

- सन् १९७९ मा गणित विषयमा क्याम्ब्रिजकै प्रसिद्ध पद 'ल्युकेसियन प्रोफेसर' मा नियुक्त हुनु,
- सन् १९८५ मा उनी धेरै बिरामी परेपछि चिकित्सकले उनको रोगको उपचारका लागि श्वासनलीको शल्यक्रिया गर्नु,
- शल्यक्रियापछि उनको आवाज पुरै हराएकाले आफूले गरिरहेको काम अघि बढाउन नसक्नु ।

(छ) प्रेमसम्बन्ध, विवाह र दाम्पत्य जीवन

- हकिङ क्याम्ब्रिजमा विद्यावारिधि गरिरहँदा उनले जेन वाइल्डसँग प्रेम गरी सन् १९६५ मा विवाह गर्नु,
- उनीहरूका लुसी नामकी छोरी र रोबर्ट र तिमोथी नामका दुई छोरा जन्मनु,
- उनीहरूको दाम्पत्य सम्बन्धमा खटपट आएपछि सन् १९९० मा सम्बन्धविच्छेद हुनु,
- सन् १९९५ मा उनले आफ्नो स्याहारसुसार गर्ने नर्स एलेन मेसनसँग विवाह गर्नु,
- मेसनसितको दाम्पत्य सम्बन्ध पनि लामो समयसम्म रहन नसकी सन् २००६ मा उनीहरुको सम्बन्धविच्छेद हुनु ।

(ज) विभिन्न  पुस्तक र शोधपत्रको प्रकाशन

- हकिडले आफ्नो जीवनकालमा दर्जनभन्दा बढी पुस्तक र कैयौं शोधपत्र तयार गरी प्रकाशन गर्नु,
- उनका पुस्तकमध्ये सन् १९८८ मा प्रकाशित सर्वाधिक चर्चित पुस्तक 'अ ब्रिफ हिस्ट्री अफ टाइम' लाई सन् १९९८ मा गिनिज बुक अफ वर्ल्ड रेकर्डद्वारा सदावहार सर्वाधिक बिक्री हुने पुस्तक घोषणा गर्नु,

(झ) ब्रह्माण्डको उत्पत्ति र संरचनासम्बन्धी मौलिक मान्यता

- हकिङले ब्रह्माण्डको उत्पत्ति र संरचनासम्बन्धी गहिरो अध्ययन गरी यससम्बन्धी आफ्ना मौलिक मान्यता प्रस्तुत गर्नु,
- ब्रह्माण्डको उत्पत्ति सर्वाधिक घनत्वको अवस्थामा रहेको कुनै बिन्दुबाट भएको र त्यसको अन्त्य पनि त्यस्तै बिन्दुमा हुने बताउनु जसलाई उनले ब्ल्याकहोल भन्नु,

- उनले अधिक गुरुत्व शक्तिले गर्दा ब्ल्याकहोलभित्र हरेक चिज खुम्चिएर रहेका हुने र अझ खुम्चँदै जाँदा त्यसबाट विकिरण उत्सर्जन हुन्छ भन्ने पत्ता लगाउनु,

(ञ) पृथ्वीमा आइपर्ने सम्भावित विपत्तिबाट बच्न मानव समु गरेको आग्रह

- हकिङले पृथ्वीमा आइपर्ने सम्भावित विपत्तिबाट बच्न मानव समुदायलाई बारम्बार सचेत गराउनु,
- परमाणुयुद्ध, विश्वव्यापी तापक्रम वृद्धि, प्रकृति विरुद्धका मानवीय गतिविधिका कारण पृथ्वीमा मानव जीवन खतरामा परेकोले यसतर्फ समयमै सचेत हुन आग्रह गर्नु,
- मानिसलाई कृत्रिम बुद्धिमत्तापूर्ण रोबोटको निर्माणमा सचेत हुन आग्रह गर्नु ।

(ट) हकिडले समय समयमा दिएका प्रेरणादायी वक्तव्य

- हकिङले बालबालिकालाई आफूभन्दा तलको पैतालालाई नभई सधैँ तारालाई हेर्न, बिनाकाम जिन्दगी खाली भएकाले सधैँ कर्मशील बन्न र कसैले प्रेम गरेमा त्यसलाई स्वीकार गर्न सुझाव दिनु,
- बिनागल्ती संसारका कोही पनि मानिस अघि बढ्न नसक्ने भएकाले गल्तीलाई प्रगतिको पथप्रदर्शकका रूपमा लिनुपर्ने बताउनु,
- शारीरिक अशक्ततालाई कहिल्यै पनि दुर्भाग्य सम्मझन नहुने सुझाव दिनु,
- इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका त्रिवेणी रहेका हकिङले शारीरिक अशक्ततामाथि विजय प्राप्त गर्नु ।

(ठ) हकिडले पाएका पुरस्कार र उपाधि

- आफ्नो जीवनमा गरेका योगदानका कारण हकिङल थुप्रै पुरस्कारले विभूषित हुनु,
- अल्बर्ट आइन्स्टाइन मेडल (सन् १९७९), ह्युज मेडल अफ रोयल सोसाइटी (सन् १९७६), मेडल अफ रोयल एस्ट्रोनोमिकल सोसाइटी (सन् १९८५) लगायतका दर्जनभन्दा बढी स्वर्ण पदक र पुरस्कार प्राप्त गर्नु,
- सन् १९८२ मा ब्रिटिस महारानी एलिजाबेथले उनलाई 'कमान्डर अफ द ब्रिटिस एम्पायर' कदरबाट सम्मान गर्नु,
- सन् २००९ मा अमेरिकी सरकारले त्यहाँको सर्वोच्च नागरिक सम्मान 'राष्ट्रपति' पदकबाट सम्मान गर्नु ।

(ड) समग्र योगदान र देहावसान

- शारीरिक रूपमा अशक्त हुँदा पनि निरन्तर अनुसन्धान गर्दै भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरेर मानवीय चेतनालाई नयाँ उचाइमा पुर्याउन उल्लेख्य योगदान गर्ने विशिष्ट प्रतिभा हुनु,
- सन् २०१८ मार्च १४ मा ७६ वर्षीय जीवनसङ्घर्षबाट देहावसान हुनु ।

३. पाठ पढ़ी दिइएका प्रश्नको उत्तर भन्नुहोस्

(क) कस्तो परिस्थितिमा हकिङ जन्मेका हुन् ?
स्टीफन हकिङको जन्म सन् १९४२ जनवरी ८ मा बेलायतको अक्सफोर्ड सहरमा भएको हो। त्यतिबेला बेलायत दोस्रो विश्वयुद्धको चपेटामा परेको थियो र उनका परिवारले आर्थिक कठिनाइ भोगिरहेका थिए। युद्धको त्रास र अभावका बीच जन्मिएका हकिङ मध्यम वर्गीय परिवारमा हुर्किएका थिए।

(ख) हकिङलाई लागेको रोगको नाम के हो ?
हकिङ स्नायुसम्बन्धी गम्भीर रोग ‘अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस’ बाट पीडित थिए।

(ग) हकिङको सर्वाधिक चर्चित पुस्तक कुन हो ?
हकिङले लेखेको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ उनको सबैभन्दा चर्चित र विश्वव्यापी रूपमा लोकप्रिय कृति हो।

(घ) हकिङका आमाबुबा कुन कुन विषयका विद्वान् थिए ?
हकिङकी आमा इसाबेल अर्थशास्त्र विषयमा दखल राख्ने विद्वान् थिइन् भने उनका बुबा प्रयाङ्क जीवविज्ञानका जानकार थिए।

(ङ) हकिङसँग रहेका तीन शक्ति के के हुन् ?
हकिङमा दृढ इच्छाशक्ति, गहिरो ज्ञानशक्ति र निरन्तर कर्म गर्ने क्रियाशक्ति रहेका थिए।

(च) हकिङले कसरी सिङ्गो संसारलाई नै आश्चर्यचकित बनाए ?
गम्भीर शारीरिक अशक्तताका बाबजुद पनि हकिङले निरन्तर अनुसन्धान जारी राखी ब्रह्माण्ड र भौतिक शास्त्रका जटिल विषयमा नयाँ सिद्धान्त प्रस्तुत गरेर सम्पूर्ण विश्वलाई चकित पारे।

(छ) हकिङले ब्ल्याकहोलका सम्बन्धमा प्रस्तुत गरेको मौलिक विचार के हो ?
हकिङले ब्ल्याकहोलभित्र अत्यन्त शक्तिशाली गुरुत्वाकर्षणका कारण वस्तुहरू अत्यधिक खुम्चिने र एक चरणपछि त्यहाँबाट ऊर्जा उत्सर्जन हुने विचार प्रस्तुत गरे।

४. रोग लागेपछि हकिङको जीवनमा शारीरिक रूपमा आइपरेका समस्यालाई क्रमबद्ध रूपमा प्रस्तुत गर्दै एउटा अनुच्छेद लेख्नुहोस् ।

२१ वर्षको उमेरमा स्नायुसम्बन्धी गम्भीर रोगको निदान भएपछि स्टीफन हकिङको जीवन क्रमशः शारीरिक कठिनाइतर्फ उन्मुख भयो। सुरुमा सामान्य हिँडडुलमा असहजता महसुस भए पनि उनले उपचार र अध्ययनलाई सँगसँगै अघि बढाए। समय बित्दै जाँदा रोगले शरीरका स्नायुहरू कमजोर बनाउँदै लग्यो, जसका कारण उनको दृष्टि धमिलो हुन थाल्यो र बोली अस्पष्ट बन्दै गयो। केही वर्षपछि उनी लट्ठीको सहाराबिना हिँड्न असमर्थ भए र अन्ततः ह्विलचेयरमा सीमित हुन पुगे। रोग अझ बढेपछि हातखुट्टा चलाउन नसक्ने अवस्था आयो र श्वासप्रश्वासमा समेत समस्या देखापर्‍यो। शल्यक्रियापछि उनको आवाज पूर्ण रूपमा हरायो, जसले बोलचाल असम्भव बनायो। यद्यपि प्रविधिको सहयोगमा अनुहार र मस्तिष्कका संकेतबाट सञ्चालित कम्प्युटर प्रयोग गरी उनले आफ्ना विचार व्यक्त गर्न थाले। यसरी गम्भीर शारीरिक बाधाका बाबजुद पनि हकिङले वैज्ञानिक अनुसन्धान निरन्तर जारी राख्दै मानव ज्ञानको दायरा विस्तार गर्न उल्लेखनीय योगदान दिए।

५. दिइएको जीवनी अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।

(अ) हकिङ कस्तो स्वभावका थिए ?
हकिङ बाल्यकालदेखि नै अत्यन्त जिज्ञासु, लगनशील र सिर्जनशील स्वभावका थिए। उनी वरपरका वस्तुहरू कसरी काम गर्छन् भन्ने कुरा बुझ्न उत्सुक रहन्थे र प्रयोगात्मक सोच राख्थे। फुर्सदको समयमा उनी नयाँ कुरा निर्माण गर्ने, अध्ययन गर्ने र अनुसन्धानमा डुब्ने गर्थे। यसले उनी मेहनती र खोजमुखी व्यक्ति भएको प्रमाणित गर्छ।

(आ) हकिङलाई उनका साथीहरूले आइन्स्टाइन भन्नुको कारण के हो ?
हकिङको असाधारण सोच, वैज्ञानिक रुचि र सिर्जनशील क्षमताबाट उनका साथीहरू अत्यन्त प्रभावित थिए। उनले सानै उमेरमा जटिल वस्तुहरू निर्माण गर्ने र नयाँ परिकल्पना प्रस्तुत गर्ने क्षमता देखाएका कारण साथीहरूले उनलाई महान वैज्ञानिक आइन्स्टाइनसँग तुलना गर्दै त्यही नामले सम्बोधन गरेका हुन्।

६. दिइएको जीवनी अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) पृथ्वीमा मानव जीवन खतरामा पर्नुका कारण के के हुन् ?
पृथ्वीमा मानव जीवन संकटमा पर्नुका प्रमुख कारण स्वयं मानवका गतिविधि हुन्। वैज्ञानिक प्रगति र प्रविधिको अन्धाधुन्ध प्रयोगले परमाणु युद्धको सम्भावना बढाएको छ। त्यस्तै, वातावरण प्रदूषण, जलवायु परिवर्तन र प्राकृतिक स्रोतको अत्यधिक दोहनले मानव अस्तित्वमाथि गम्भीर खतरा उत्पन्न गरेको छ।

(ख) हकिङले मानिसलाई किन कृत्रिम बुद्धिमत्तापूर्ण रोबोटको निर्माणमा सचेत हुन आग्रह गरेका हुन् ?
कृत्रिम बुद्धिमत्तायुक्त रोबोट मानवले नै निर्माण गरे पनि तिनको विश्लेषण र निर्णय क्षमता तीव्र रूपमा बढ्दै गएको छ। भविष्यमा यस्ता प्रविधिले मानवमाथि नियन्त्रण जमाउने जोखिम देखिएकाले हकिङले यसप्रति सावधानी अपनाउन आग्रह गरेका हुन्। अनियन्त्रित विकासले मानव अस्तित्वमै संकट ल्याउन सक्ने भएकाले सचेत प्रयोग आवश्यक ठानेका हुन्।

७. समीक्षात्मक उत्तर लेख्नुहोस्

(क) “दृढ इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका सामु शारीरिक रोग शक्तिहीन हुन्छ।” यस भनाइलाई पाठका आधारमा पुष्टि गर्नुहोस्।

स्टीफन हकिङको जीवन र संघर्षले “दृढ इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका सामु शारीरिक रोग शक्तिहीन हुन्छ” भन्ने भनाइलाई पूर्ण रूपमा प्रमाणित गर्दछ। सन् १९४२ जनवरी ८ मा बेलायतको अक्सफोर्ड सहरमा जन्मिएका हकिङ आर्थिक रूपमा साधारण परिवारका सदस्य थिए। दोस्रो विश्वयुद्धको भयावह परिस्थितिमा जन्मिएका उनी बाल्यकालदेखि नै असाधारण जिज्ञासु र अध्ययनशील थिए। आमा इसाबेल र बुबा प्रयाङ्क दुवै विद्वान् भएकाले बौद्धिक वातावरणमा हुर्किएका हकिङले सानैदेखि विज्ञानप्रति गहिरो रुचि देखाएका थिए।

२१ वर्षको उमेरमा ‘अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस’ नामक स्नायुसम्बन्धी गम्भीर रोग लागेपछि उनको जीवनमा शारीरिक कठिनाइको श्रृंखला सुरु भयो। सुरुमा सामान्य हिँडडुलमा समस्या देखिन थाल्यो भने समयक्रममा आँखा धमिलो हुने, बोली अस्पष्ट हुने जस्ता समस्या देखा परे। चिकित्सकहरूले उनको आयु दुई वर्ष मात्र बाँकी रहेको बताउँदा उनी मानसिक रूपमा अत्यन्त पीडित भए। केही समय उनी निराश भए तापनि उनले जीवनप्रति हार मानेनन्। सन् १९६५ तिर लट्ठीको सहाराबिना हिँड्न नसक्ने अवस्थामा पुगे भने पछि हातखुट्टा चल्न छाडेपछि ह्विलचेयरमै सीमित हुनुपर्‍यो। शल्यक्रियापछि त उनको आवाज नै हरायो।

यति गम्भीर शारीरिक अवस्थाका बाबजुद पनि हकिङले आफ्नो अध्ययन र अनुसन्धान रोकेनन्। विज्ञानप्रतिको गहिरो ज्ञान, जीवनप्रति दृढ इच्छाशक्ति र निरन्तर कर्मशील क्रियाशक्तिले उनलाई अघि बढाइरह्यो। पछि मस्तिष्कका तरङ्ग र अनुहारका भावका आधारमा चल्ने कम्प्युटरको विकास भएपछि उनले त्यसैको सहयोगले अनुसन्धान लेख लेख्ने, प्रवचन दिने र अन्तर्वार्ता दिने कार्य निरन्तर गरे। उनले शारीरिक अशक्ततालाई कमजोरी होइन, अवसरका रूपमा लिए।

“आशा राख र व्यस्त बन” भन्ने जीवनदर्शन अपनाएका हकिङले शारीरिक सीमालाई बौद्धिक उचाइमा रूपान्तरण गरे। शारीरिक रोगले शरीरलाई नियन्त्रण गरे पनि उनको सोच, कल्पना र अनुसन्धानशील चेतनालाई कहिल्यै बाँध्न सकेन। यसरी इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिको त्रिवेणीका कारण हकिङले शारीरिक अशक्ततामाथि विजय प्राप्त गरे। सन् २०१८ मार्च १४ मा ७६ वर्षको उमेरमा उनको देहावसान भए तापनि उनका सिद्धान्त, पुस्तक र विचारले उनलाई विश्व इतिहासमा अमर बनाएको छ। अतः हकिङको जीवनले उक्त भनाइलाई पूर्ण रूपमा पुष्टि गर्दछ।

(ख) हकिङले मानवीय चेतनालाई नयाँ उचाइमा पुर्‍याउन गरेका योगदानको समीक्षा गर्नुहोस्।

स्टीफन हकिङ आधुनिक विश्वका त्यस्ता वैज्ञानिक हुन् जसले शारीरिक अशक्तताको सीमालाई तोड्दै मानवीय चेतनालाई नयाँ बौद्धिक उचाइमा पुर्‍याए। सन् १९४२ मा जन्मिएका हकिङ ‘अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस’ जस्तो जटिल रोगबाट पीडित हुँदाहुँदै पनि विज्ञानप्रति आफ्नो लगाव र अनुसन्धानलाई कहिल्यै रोकेनन्। प्रतिकूल शारीरिक अवस्थाका बाबजुद उनले इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिको बलमा वैज्ञानिक क्षेत्रमा असाधारण योगदान दिए।

हकिङले आफ्नो जीवनकालमा दर्जनभन्दा बढी पुस्तक र असंख्य शोधपत्र प्रकाशित गरे। तीमध्ये सन् १९८८ मा प्रकाशित ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ ले ब्रह्माण्डका जटिल सिद्धान्तलाई सामान्य पाठकसमक्ष सरल भाषामा प्रस्तुत गर्‍यो। यस पुस्तकले विश्वभरिका मानिसहरूमा ब्रह्माण्ड, समय र अन्तरिक्षप्रति गहिरो जिज्ञासा जगायो। यसरी उनले विज्ञानलाई केवल प्रयोगशालासम्म सीमित नराखी जनसाधारणको पहुँचमा पुर्‍याए।

उनको अर्को महत्वपूर्ण योगदान ब्ल्याकहोलसम्बन्धी मौलिक सिद्धान्त हो। उनले अत्यधिक गुरुत्वाकर्षणका कारण ब्ल्याकहोलभित्र वस्तुहरू अत्यन्त खुम्चिने र अन्ततः त्यहाँबाट विकिरण उत्सर्जन हुने अवधारणा प्रस्तुत गरे, जसलाई ‘हकिङ विकिरण’ भनिन्छ। यसले ब्रह्माण्डसम्बन्धी पूर्वधारणालाई चुनौती दियो। साथै उनले वार्महोलको अवधारणा व्याख्या गर्दै समययात्रा र अन्तरग्यालेक्टिक यात्राको सम्भावनाबारे वैज्ञानिक बहसलाई नयाँ दिशा दिए।

हकिङ केवल वैज्ञानिक मात्र नभई प्रेरणादायी वक्ता पनि थिए। ह्विलचेयरमा जडित कम्प्युटरको सहायताले उनले दिएका सन्देशहरूले मानव जीवन, आशा र संघर्षबारे गहिरो चेतना फैलाए। उनले परमाणु युद्ध, जलवायु परिवर्तन र प्रकृतिविरुद्धका मानवीय गतिविधिबाट पृथ्वीमा मानव अस्तित्व खतरामा पर्न सक्ने चेतावनी दिए। साथै, कृत्रिम बुद्धिमत्तायुक्त रोबोटको अनियन्त्रित विकासप्रति पनि उनले विश्व समुदायलाई सचेत गराए।

यसरी, शारीरिक रूपमा अशक्त भए पनि हकिङले वैज्ञानिक अनुसन्धान, दर्शन, चेतना र भविष्यप्रतिको सोचमा गहिरो प्रभाव पारे। मानवीय चेतनालाई वैज्ञानिक, दार्शनिक र नैतिक उचाइमा पुर्‍याउने कार्यमा उनको योगदान अमूल्य छ। अतः हकिङलाई मानवीय चेतनालाई नयाँ उचाइमा पुर्‍याउने विशिष्ट वैज्ञानिकका रूपमा मूल्याङ्कन गर्न सकिन्छ।

८. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्

(क) आधुनिक भौतिक शास्त्रीहरूले ब्रह्माण्डको सृष्टि केबाट भएको बताएका छन् ?

आधुनिक भौतिक शास्त्रीहरूका अनुसार ब्रह्माण्डको उत्पत्ति अत्यन्त उच्च घनत्व र ऊर्जा रहेको एक बिन्दुबाट भएको हो, जसलाई क्वान्टम पुञ्ज वा ब्ल्याकहोल जस्तो अवस्था मानिन्छ।

(ख) वेदमा सृष्टिको कारक केलाई मानिएको छ ?

वेदमा सम्पूर्ण सृष्टि, स्थिति र प्रलयको मूल कारणका रूपमा ब्रह्मलाई स्वीकार गरिएको छ।

(ग) ब्रह्म र क्वान्टम पुञ्जबिच के समानता रहेको छ ?

वेदान्त दर्शनमा ब्रह्मलाई सृष्टिको आदिकारण मानिन्छ भने आधुनिक भौतिकशास्त्रमा क्वान्टम पुञ्जलाई ब्रह्माण्डको उत्पत्तिको केन्द्र मानिन्छ। दुवैले सृष्टि उत्पन्न हुने र पुनः त्यसैमा विलीन हुने अवधारणालाई स्वीकार गर्छन्।

(घ) वेदान्त दर्शनमा सृष्टि, स्थिति र प्रलयको एकीकृत व्याख्या गर्ने ग्रन्थलाई के नाम दिइएको छ ?

वेदान्त दर्शनमा सृष्टि, स्थिति र प्रलयको एकीकृत व्याख्या गर्ने ग्रन्थलाई वैदिक ग्रन्थ भनिन्छ।

व्याकरण

१. पाठको पहिलो अनुच्छेदबाट सामान्यार्थक वाक्य टिप्नुहोस् ।

शारीरिक रुपमा अशक्त भए पनि दृढ इच्छाशक्ति तथा प्रतिभाको साथ पाएको र सधैँ साधनामा रमाउने व्यक्ति कहिल्यै शक्तिहीन हुँदैन । शक्तित्रयको साथ पाएपछि शारीरिक अशक्तताका कारण सिर्जित जस्तोसुकै विषम परिस्थितिमा पनि सिर्जनशील हुँदै ऊ सफलताको शिखर चुम्न सफल हुन्छ । त्यस्तो व्यक्ति मानवहितमा समर्पित हुन्छ भने ऊ आफूले गरेका योगदानका कारण समाज विशेषमा मात्र नभई सिङ्गो संसारभरि नै उदाहरणीय बन्न पुग्छ । यस्तै शारीरिक स्थिति अत्यन्त नाजुक भए पनि मानवहितका लागि केही गर्ने तीव्र चाहना, त्यसलाई साथ दिने प्रतिभा र निरन्तरको साधनाका कारण भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरेर सिङ्गो संसारलाई नै आश्चर्यचकित बनाउने व्यक्ति हुन्, स्टिफन विलियम हकिङ । नाम सुन्नेबित्तिकै उनको भौतिक रूप देखेका सबैको मानसपटलमा एउटा स्वचालित ह्विलचेयरमा बसेको, टाउको निहुराएको, हातखुट्टा नचल्ने, बोल्न नसक्ने र शारीरिक रुपमा अत्यन्तै अशक्त व्यक्तिको चित्र प्रतिबिम्बित हुन्छ । उनले गरेका योगदानका बारेमा थाहा पाएपछि चाहिँ जो कोही छक्क पर्छ ।

२. तलको अनुच्छेदबाट आज्ञार्थक एवम् सम्भावनार्थक वाक्य टिप्नुहोस् र तिनलाई इच्छार्थकमा बदल्नुहोस्ः

आज्ञार्थ वाक्यहरू :
साह्रै बदमासी गर्न गर्न थालेपछि एक दिन दाइले भाइलाई सम्झाउँदै भन्यो, “भाइ, तिमी यसरी अल्छी नगर, आफ्नो क्षमतालाई सिर्जनशील काममा लगाऊ, मूर्ख साथीहरुको पछि नलाग, तिमी सुखी होऊ र सधैँ प्रसन्न बन भन्ने मेरा चाहना छ ।"

इच्छार्थकमा बदल्दा :
साह्रै बदमासी गर्न गर्न थालेपछि एक दिन दाइले भाइलाई सम्झाउँदै भन्यो, “भाइ तिमी यसरी अल्छी नगरे, आफ्नो क्षमतालाई सिर्जनशील काममा लगाए, मूर्ख साथीहरूको पछि नलागे, तिमी सुखी भए र सधैँ प्रसन्न बने भन्ने मेरा चाहना छ ।”

सम्भावनार्थक वाक्यहरू :
यसपछि दाइले भविष्यमा गर्ने कामको योजना बनाउँदै मनमनै भन्यो, “तरकारी खेती गरुँला, तरकारी बेचुला, तरकारी बेचेर आएको पैसा जम्मा गरेर एउटा अर्को घर बनाउँला । आफू बसिरहेको घर भाइलाई दिउँला, त्यसपछि बिहे गरुँला अनि श्रीमतीले पनि मलाई साथ देलिन् । छोराछोरी जन्मलान्, आफूले पढ्न नपाए पनि उनीहरुलाई राम्ररी पढाउँला, पढेपछि जागिर खालान्, काममा पनि सघाउलान् । छोरीले आफ्नी आमालाई सघाउली अनि छोराले चाहिँ मलाई सघाउला । परिवारका सबै जना बिदाको दिन पारेर घुम्न जाउँला अनि जीवन कति मज्जाको हुन्छ होला ।"

इच्छार्थकमा बदल्दा :
यसपछि दाइले भविष्यमा गर्ने कामको योजना बनाउँदै मनमनै भन्यो, "तरकारी खेती गरुँ, तरकारी बेचूँ, तरकारी बेचेर आएको पैसा जम्मा गरेर एउटा अर्को घर बनाऊँ । आफू बसिरहेको घर भाइलाई दिऊँ, त्यसपछि बिहे गरुँ, अनि श्रीमतीले पनि मलाई साथ दिउन् । छोराछोरी जन्मुन्, आफूले पढ्न नपाए पनि उनीहरूलाई राम्ररी पढाऊँ, पढेपछि जागिर खाउन्, काममा पनि सघाउन् । छोरीले आफ्नी आमालाई सघाओस् अनि छोराले चाहिँ मलाई सघाओस् । परिवारका सबै जना बिदाको दिन पारेर घुम्न जाऔँ अनि जीवन कति मज्जाको होओस् ।"

३. दिइएको अनुच्छेदबाट इच्छार्थक वाक्य टिप्नुहोस् र तिनलाई सम्भावनार्थकमा बदल्नुहोस् :

इच्छार्थक वाक्य :
संसारका सबै व्यक्तिलाई आफूले पढ्न नपाए पनि आफ्ना छोराछोरीले राम्ररी पढुन् र असल व्यक्ति बनुन् र समाजका लागि केही गरून् भन्ने इच्छा हुन्छ । अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले आफ्नो छोरो पढ्ने विद्यालयका प्रधानाध्यापकलाई एउटा चिठी लेखेर यस्तै इच्छा व्यक्त गरेका थिए, "मेरो छोराले समाजका सबै मानिस एक किसिमका हुँदैनन् भन्ने कुरा बुझोस् । सित्तैमा कमाएको ५० डलरभन्दा परिश्रम गरी कमाएको एक डलर निकै मूल्यवान् हुन्छ भन्ने सम्भोस् । जतातिर हुल छ त्यतैतिर लाग्ने प्रवृत्तिले नहोओस् । ऊ दुःख र कष्टमा पनि खुसी रहन सिकोस् । ऊ आफ्नो बुद्धि र सामर्थ्यमा विश्वास गरोस् । यदि उसको उद्देश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भए पनि ऊ जिउज्यानले लागिपरोस् । उभित्र सत्य र न्याय प्राप्तिका लागि सङ्घर्ष गर्न सक्ने दृढशक्तिको विकास होस् । उसभित्र साहस, केही गरुँ र सबै एकआपसमा मिलौ भन्ने भावना भइरहोस् ।"

सम्भावनार्थक बदल्दा :
संसारका सबै व्यक्तिलाई आफूले पढ्न नपाए पनि आफ्ना छोराछोरीले राम्ररी पढ्लान् र असल व्यक्ति बन्लान् र समाजका लागि केही गर्लान् भन्ने इच्छा हुन्छ । अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले आफ्नो छोरो पढ्ने विद्यालयका प्रधानाध्यापकलाई एउटा चिठी लेखेर यस्तै इच्छा ब्यक्त गरेका थिए, "मेरो छोराले समाजका सबै मानिस एक किसिमका हुँदैनन् भन्ने कुरा बुझ्ला । सित्तैमा कमाएको ५० डलरभन्दा परिश्रम गरी कमाएको एक डलर निकै मूल्यवान् हुन्छ भन्ने सम्झला । जतातिर हुल छ त्यतैतिर लाग्ने प्रवृत्तिले नछोला । ऊ दुःख र कष्टमा पनि खुसी रहन सिक्ला । ऊ आफ्नो बुद्धि र सामर्थ्यमा विश्वास गर्ला । यदि उसको उद्देश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भए पनि ऊ जिउज्यानले लागिपर्ला । उभित्र सत्य र न्याय प्राप्तिका लागि सङ्घर्ष गर्न सक्ने दृढशक्तिको विकास होला । उसभित्र साहस केही गरुला र सबै एकआपसमा मिलौला भन्ने भावना भइरहला ।"

४. दिइएको अनुच्छेदबाट सङ्केतार्थक वाक्य टिप्नुहोस् र तिनलाई आज्ञार्थकमा बदल्नुहोस् :

सङ्केतार्थक वाक्य :
मिहिनेत गरे सफल भइन्छ । काममा लागे असफल पनि हुन सकिन्छ । लडाइँमा लडे विजय प्राप्त हुन्छ । पढाइमा हार नमाने विद्वान् बनिन्छ । लडाइँमा हार नमाने विजेता बनिन्छ ।

आज्ञार्थक वाक्यमा बदल्दा :
मिहिनेत गर सफल होऊ । काममा लाग असफल पनि हुन सक । लडाइँमा लडे विजय प्राप्त हुन्छ । पढाइमा हार नमान, विद्वान् बन । लडाइँमा हार नमान, विजेता बन ।

५. दिइएको अनुच्छेदमा प्रयुक्त करण र अकरण क्रियापद पहिचान गरी टिप्नहोस्

करण क्रियापद :
निस्केका थिए, भने, पुग्छ, सुने, थाले गरिरहे, भए चिनिए,

अकरण क्रियापद :
चाहिँदैन, सकेनन्, भनेन्, मानेनन्, गरेनन्, सक्दैन

६. दिइएका वाक्यलाई सामान्यार्थकमा बदल्नुहोस्:

तिमी परिश्रम गछौँ, आफ्नो क्षमतालाई सिर्जनशील काममा लगाउँछौ, पढ्ने समयमा पढ्छौ, नबुझेको कुरा सोध्छौ, खेल्ने समयमा खेल्छौ । तिमी जहिलेदेखि मैले भनेको यो कुरा मान्छौ र गर्छौ त्यसपछि नै सुखी पनि हुन्छौ ।

७. दिइएका वाक्यलाई सङ्केतार्थकमा बदल्नुहोस् :

आज बादल लागे पानी पर्छ । हामी विद्यालय गयौ भने पानीमा भिज्छौँ । बाटामा हिलो भए हामी चिप्लिएर लड्न सक्छौँ । यसैले हामी सावधान भएर हिँडे हिलामा पछारिनबाट बच्छौँ ।

८. दिइएको अनुच्छेदमा प्रयुक्त वाक्यका क्रियापदलाई करण भए अकरण र अकरण भए करणमा परिवर्तन गर्नुहोस् :

पहिले पहिले म धेरै पढ्दैनथें । आरिफ चाहिँ गीत गाउँदैनथ्यो । आजकल म गीत गाउँदिनँ । ऊ चाहिँ खेल्दैन । मलाई के लाग्दैन भने मानिसको मन सधैँ एकै किसिमको हुन्छ । समाज र समयअनुसार मानिसको मनमा परिवर्तन नभइरहँदैन ।

९. इच्छार्थक क्रियापदको प्रयोग गरी 'मैले चाहेको नेपाल' शीर्षकमा एउटा अनुच्छेद लेख्नुहोस् ।

मैले चाहेको नेपाल न्याय, समृद्धि र शान्तिले भरिएको देश होओस्। यहाँका नागरिकले शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चित पहुँच पाउन सकुन्। गाउँ–सहरबीचको असमानता अन्त्य होओस् र विकासका अवसर सबै क्षेत्रमा समान रूपमा फैलिन सकुन्। किसानले पसिना बगाएको मूल्य पाउन्, श्रमिकले सम्मानजनक जीवन जिउन सकुन् र युवाले आफ्नै देशमा भविष्य देख्न सकुन्। शासन प्रणाली पारदर्शी बनोस् र शासकहरू सेवाभावले प्रेरित होउन्। विद्यालय ज्ञानका केन्द्र बनुन् र विद्यार्थीहरू जिम्मेवार, सचेत र सृजनशील नागरिक बन्न सकुन्। प्राकृतिक स्रोतको संरक्षण होओस् र वातावरण सन्तुलित रहोस्। विविधताबीच एकता कायम रहोस् र सबै जाति, भाषा तथा संस्कृतिको समान सम्मान होओस्। भ्रष्टाचार निर्मूल होओस् र कानुन सबैका लागि समान रूपमा लागू होओस्। यस्तो नेपाल निर्माण होओस् जहाँ प्रत्येक नागरिकले गर्वका साथ “यो मेरो देश हो” भन्न सकुन्।

१०. दिइएको अनुच्छेदमा पदयोग र पदवियोगमा रहेका गल्ती पहिचान गरी शुद्ध बनाउनुहोस् :

म र राजाराम विश्वविद्यालयमा पढ्छौँ । मेरो घर भक्तपुरमा छ । राजारामको घर ललितपुरमा छ । आइतबारदेखि शुक्रबारसम्म हामी पढाइमा व्यस्त हुन्छौं । शनिबार हामी घुम्न जान्छौं । हामी कहिले उपत्यका भित्र र कहिले उपत्यका बाहिर घुम्न जान्छौं । राजारामको बानी अनोठौ छ । केही गरौँ भन्नु मात्र पर्छ, उसने गरिहाल्नुपर्छ, कुनै कुरा खाऊँ भन्नु मात्रै पर्छ उसले जसरी नै खानुपर्छ । आउने शनिबार हामी विराटनगर जाने छौँ । त्यहाँ हामी मुख्यमुख्य सबै ठाउँ पुग्ने छौँ । त्यहाँ मेरा कान्छा बुबाको घर पनि छ । भातसात र वास सासका लागि केही समस्या छैन । यस पटकको यात्रामा मेरो माहिलो भाइ र माथिल्लो घर जेठो पनि सहभागी हुने कुरा छ ।

Powered by Google Blogger | VIP

×