NEB Class 12 Nepali Chapter 12 Jeevan Marg (जीवन मार्ग) Exercise Questions and Answers
जीवन मार्ग : सारांश
जीवन मार्ग कक्षा १२ को नेपाली पाठ्यक्रममा समावेश गरिएको एक प्रभावशाली रिपोर्टाजमूलक रचना हो, जसले नेपाली समाजमा उद्यमशीलता, आत्मनिर्भरता र श्रमको महत्त्वलाई यथार्थपरक ढङ्गले उजागर गर्छ।
यस पाठको केन्द्रमा छिरिङ नामक पात्रको जीवन सङ्घर्ष छ, जो आर्थिक रूपमा कमजोर परिवारमा जन्मिएर सानै उमेरदेखि जिम्मेवारी बोक्न बाध्य हुन्छ। बुबाको निधनपछि शिक्षा र जीवनयापन दुवैलाई सँगसँगै अघि बढाउँदै उनले परिश्रम, धैर्य र दृढ इच्छाशक्तिको मूल्य बुझ्छन्। विभिन्न पेशा र विदेश भ्रमणबाट प्राप्त अनुभवले छिरिङलाई श्रमको सम्मान, समयको सदुपयोग र दीर्घकालीन सोचको महत्व सिकाउँछ। जग्गा प्लटिङजस्ता अनुत्पादक व्यवसायप्रति आकर्षित नहुई उनले नेपाली मौलिकता, स्थानीय स्रोतसाधन र परम्परागत सीपको उपयोग गर्दै चोमोलुङ्गा औद्योगिक प्रतिष्ठान स्थापना गर्छन्।
यस प्रतिष्ठानबाट उत्पादित प्राकृतिक, अर्गानिक र सांस्कृतिक पहिचान बोकेका वस्तुहरू स्वदेश तथा विदेशमा लोकप्रिय बन्छन्, जसले रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ। पाठले अरूको नक्कल गर्ने प्रवृत्तिको आलोचना गर्दै मौलिक सोच, स्वस्थ प्रतिस्पर्धा, सहकार्य र जोखिम मोल्ने साहसलाई सफल जीवनको आधार मानेको छ।
यसरी जीवन मार्ग नेपाली युवालाई “स्वदेशमै सम्भावना छ” भन्ने आत्मविश्वास जगाउँदै संघर्ष, श्रम र सृजनशीलताबाट नै साँचो समृद्धि सम्भव हुन्छ भन्ने सशक्त सन्देश दिन्छ।
शब्दभण्डार
१. शब्द र अर्थका बिचमा जोडा मिलाउनुहोस् :
शब्द — अर्थ
-
मौलिक — कसैको आधार नलिएको, सिर्जनात्मक
-
बाहुल्य — धेरै हुनाको भाव वा अवस्था
-
जतन — सुरक्षित
-
चिनो — चिह्न, निसान
-
निर्यात — स्वदेशबाट विदेशमा सामान पठाउने काम
-
वर्चस्व — आफ्नो अधिकार कुरामा गरिने दखल
-
मूर्त — स्पष्ट आकार भएको
-
किनिमा — भटमासबाट बनाइएको एक प्रकारको परिकार
-
मकर नुहाउनु — माघे सङ्क्रान्तिमा नुहाउने काम
-
हस्तक्षेप — निय अधिकार
-
फत्ते — सम्पन्न, पूरा
२. तल पाठमा भएका खानेकुराका नामको सूची दिइएको छ । शिक्षकको सहयोगबाट ती खानेकुराका बारेमा थाहा पाउनुहोस् ।
उत्तर :
-
कटुसका दिउल — कटुसको फग्ल्याँटो, विजन, बियाँ
-
सतीबयर — भेट्नैपिच्छे तीनतीन वटा पात लाग्ने, मसिना अमिला दाना फल्ने एक फल
-
सिन्की — गोल्फु, घंटो आदिमा खाँदर अमिल्याइएर झिकेको र झोलिलो तिहुन खाइने वस्तु (गुन्द्रुक)
-
सुचियाः — नुन हालेर पकाइएको चिया
-
मार्सी चामल — उच्च पहाडी भेगमा फल्ने हल्का खैरो रङको असल चामल
-
गहत — दाल जातको लहरो वा त्यसैको कोसामा फल्ने चेप्टो आकारको गेडादार अन्न
-
बुङको आलु — माटो र खरानीमा फल्ने आलु
-
पिँडालु — कलिला पात गाभाको रूपमा र जरामा फल्ने गानु, उसिनेर वा तरकारी पकाएर खाइने
-
जिम्बु — गुन्द्रुक जस्तै देखिने, घिउ तेलमा फुराएर दाल झान्ने काममा प्रयोग गरिने वनस्पति
३. शिक्षक र साथीसँग सोधखोज गरेर दिइएका सामानका बारेमा थाहा पाउनुहोस् :
उत्तर :
-
काइँयो : कपाल कोर्न र मिलाउन प्रयोग गरिने साधन
-
थाक्रो : काँको, घिरौंला, सिमी आदि लहरे तरकारीलाई झ्याँगिन आडस्वरूप भुइँमा गाडिने रुखको हाँगा
-
फिपी : बेत, बाँस आदि चोयाले बुनेको बिर्कोवाला भाँडो
-
नाङ्लो : अन्न केलाउने साधन (सुपो)
-
डालो : अन्नपात हाल्ने फराक मुख भएको केही गहिरो भाँडो
-
चाल्नो : पिठो आदि छान्न बनाइएको मसिना प्वाल भएको साधन
-
गलैंचा : सुतीको डोरी, भेडाको ऊन आदि प्रयोग गरी विभिन्न रङका बुट्टा पारेर बुनिने बाक्लो र नरम बिछ्यौना
-
राडी : नेपाली ऊनबाट बुनिने काम्लोजस्तो खस्रो बिछ्याइने कपडा
-
लुकुनी : मिहीन राडीबाट सिएर तयार पारिएको जीउमा लगाउने कपडा
-
थाङ्का : कागज वा कपडामा बनाइने एक प्रकारको चित्र
-
खाँडीको कपडा : घरेलु तानमा बुनिएको खस्रो कपडा
-
भाङ्ग्राको झोला : भाङ्ग्राबाट बुनेको बोराजस्तो खस्रो झोला
-
बाँसका कुर्सी : बाँसका काण्ड प्रयोग गरी बनाइएका बस्न मिल्ने साधन
-
सोफा : काठको आधार, फोम र कपडाको आवरण प्रयोग गरी बनाइएको आरामदायी बस्ने साधन
-
थुन्से : सामान बोक्न बाँस वा निगालाको चोयाले बुनेको प्वाल नभएको डोकोजस्तो साधन
-
अम्रिसाको कुचो : बढार्न प्रयोग गरिने साधन
-
नेपाली कागज : नरिचो, अल्लो आदिबाट नेपालमा बनेको कागज
-
ठेकी : दही, मही, घिउ, तेल राखिने काठको भाँडो
-
मदानी : दही मथी मही पार्ने साधन
-
सुरो : पूजामा होम गर्दा आगामा घिउ हाल्न प्रयोग गरिने खयर काठको लट्ठी
४. दिइएका शब्दको अर्थ लेख्नुहोस् ।
उत्तर :
-
परिकल्पनाकार : पछि सिद्ध हुन सक्ने कुराको पहिले नै अड्कल गर्ने व्यक्ति
-
आना : चार पैसाको समुदाय, रूपैयाँको पच्चिसौँ भाग
-
धुर : एक कट्ठाको बिसौँ भाग जमिनको परिमाण
-
आत्मनिर्भर : अरूको भर नपरी आफ्नै बलमा बाँच्ने
-
आयात : विदेशबाट मालसामान भित्र्याउने काम
-
एकाधिकार : कुनै काम वा व्यापारमा एउटै व्यक्तिको पूर्ण अधिकार
-
कृत्रिम : प्राकृतिक नभएको, बनावटी
-
अर्गानिक : जैविक प्रक्रियाबाट उत्पादित
-
जोखिम : हानिनोक्सानी हुन सक्ने अवस्था
-
विकल्प : धेरैमध्ये एउटा छान्ने काम
५. शब्दकोशको सहायताबाट तलका शब्दको शब्दवर्ग, शब्दस्रोत र अर्थ लेख्नुहोस् :
| शब्द | शब्दवर्ग | शब्दस्रोत | अर्थ |
|---|---|---|---|
| असल | विशेषण | अरबी | राम्रो, उत्तम |
| विकास | नाम | संस्कृत | उन्नति |
| इष्ट | विशेषण | संस्कृत | इच्छा गरिएको |
| स्कुल | नाम | अङ्ग्रेजी | विद्यालय |
| चिया | नाम | चीनदेशीय | पेय पदार्थ |
६. दिइएका कुनै पाँचओटा उखानलाई वाक्यमा प्रयोग गरी कक्षामा सुनाउनुहोस् ।
- उत्तर :
हात्तीका मुखमा जिरा
दुई दिनदेखिको भोको मान्छेलाई एक टुका स्याउ त हात्तीका मुखमा जिरा जस्तै हो ।-
काम गर्ने कालु मकै खाने भालु
विदेशी भूमिमा हर्केले पसिना बगाएर कमाएको पैसाले गाउँमा उसकी स्वास्नीले मस्ती गरेर बसेकी छ । यो त काम गर्ने कालु मकै खाने भालु जस्तै भएन र ! -
खाने मुखलाई जुँघाले छेक्दैन
खाने मुखलाई जुँघाले छेक्दैन भनेझैँ सुशान्तले बत्ती गएको बेला मैनबत्ती बालेर पनि पढ्छ । -
गर्ने भन्ने हनुमान्, पगरी गुथ्ने ढेडु
गाउँलेले श्रमदानबाट बाटो खने तर जसजति वडाध्यक्षले पाए, यो त गर्ने भन्ने हनुमान् पगरी गुथ्ने ढेडु जस्तै भयो । -
घाँटी हेरी हाड निल्नु
घाँटी हेरी हाड निल्नु भनेझैँ हामीले आम्दानी हेरेर खर्च गर्नुपर्छ । -
बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन
बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भनेझैँ मिठो बोलेर ग्राहकको मन जितेपछि धेरै व्यापार गर्न सकिन्छ । -
मेरो गोरुको बाह्रै टक्का
मेरो गोरुको बाह्रै टक्का भनेझैँ हाम्रा नेताहरू आफ्नो कुरा मात्र सही ठान्छन् । -
म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो
जागिरबाट जिन्दगी नचलेर व्यापार गर्न थालेको थिएँ, यसमा पनि उल्टै घाटा मात्र भयो । यो त म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो जस्तै भयो । -
रातभरि करायो, दक्षिणा हरायो
दिनभर काम गरेर पनि साहुले खाना समेत दिएन । यो त रातभरि करायो दक्षिणा हरायो जस्तै भयो । -
हुने बिरुवाको चिल्लो पात
हुने बिरुवाको चिल्लो पात भनेझैँ केशब सानैदेखि अध्ययनमा निकै चासो दिन्छ । -
हात्ती आयो हात्ती आयो फुस्सा
विदेशबाट दाइ आउँदा धेरै कुरा ल्याइदिनुहुन्छ होला भन्ने लागेको थियो, केही पनि ल्याइदिनुभएन । यो त हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भयो । -
एकले थुकी सुकी, सयले थुकी नदी
एकले थुकी सुकी सयले थुकी नदी भनेझैँ देश विकासको काम एक्लैले सम्भव हुँदैन, सबै मिलेर गर्नुपर्छ । -
नमच्चिने पिङको सय झट्का
खुब राम्रो क्रिकेट खेल्छु भन्ने रोशन शून्य रनमै आउट भयो । यो त नमच्चिने पिङको सय झट्का जस्तै भयो ।
बोध र अभिव्यक्ति
१. रिपोर्ताज पाठ पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) चोमोलुङ्गा औद्योगिक प्रतिष्ठान कस्तो प्रतिष्ठान हो ?
उत्तर :
चोमोलुङ्गा औद्योगिक प्रतिष्ठान विगत पाँच वर्षदेखि स्थानीय कच्चा पदार्थको प्रयोग गरी नेपालको मौलिकता र पहिचानमा आधारित वस्तुको उत्पादन गरी स्वदेश र विदेशमा बिक्री वितरण गर्ने लोकप्रिय औद्योगिक प्रतिष्ठान हो ।
(ख) चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानबाट बिक्री गरिने सामान किन लोकप्रिय भए ?
उत्तर :
चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानबाट बिक्री गरिने सामान नेपालको मौलिकता र पहिचानमा आधारित भएकाले लोकप्रिय भएका हुन् ।
(ग) छिरिङको पारिवारिक पृष्ठभूमि कस्तो छ ?
उत्तर :
छिरिङको परिवारमा छिरिङ, बाबाआमा र भाइबहिनीहरू छन् । थोरै मात्र भएको जग्गाजमिनको उब्जनीले तीन चार महिना पनि धान्दैनथ्यो । बुबाले भारी बोकेर अनि आमाले बनीबुतो गरेर उनीहरूको जीवन जेनतेन चलेको हुनाले आर्थिक दृष्टिकोणले दयनीय छिरिङको न्यून मध्यम वर्गीय पारिवारिक पृष्ठभूमि कमजोर छ ।
(घ) किन छिरिङलाई जग्गा प्लटिङ व्यवसाय ठिक लागेन ?
उत्तर :
जग्गा प्लटिङ व्यवसायबाट पैसा कमाइए पनि खेतीयोग्य जमिन मासिने, कङ्क्रिटको जङ्गल विस्तार हुने र नेपालीले वर्षौँ दुःख गरेर कमाएको पैसा बर्बाद हुने भएकाले छिरिङलाई जग्गा प्लटिङ व्यवसाय ठिक लागेन ।
२. दिइएको रिपोर्ताज अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) नेपाली मौलिक उत्पादनको बजार कस्तो छ ?
उत्तर :
नेपालीहरू विश्वको जुनसुकै कुनामा पुगे पनि आफ्नो मौलिकता र पहिचान भुलेका छैनन् । उनीहरू उपलब्ध भएसम्म आफ्ना मौलिक वस्तुको उपभोग गर्न रुचाउँछन् । आज विश्वभर कृत्रिम र विषादीयुक्त खानपानका कारण अनेक रोग निम्तिएका छन् । नेपालजस्तो प्रकृतिले भरिएको देशमा अर्गानिक तथा प्राकृतिक वस्तुको उत्पादन गर्न सकियो भने नेपाली मौलिक उत्पादन संसारभर बिक्री हुन सक्छ । त्यसैले नेपाली मौलिक उत्पादनको बजार प्रशस्त सम्भावनायुक्त छ ।
(ख) पाठमा प्रतिस्पर्धी थपिँदैमा आत्तिनु पर्दैन किन भनिएको हो ?
उत्तर :
बजारको विस्तारसँगै कुनै एउटा उद्योगका उत्पादनले मात्र सबैको माग र आवश्यकता पूरा गर्न सक्दैन । गुणस्तरीय मौलिक वस्तु उत्पादन गर्न सकिएमा प्रतिस्पर्धी थपिँदैमा डराउनुपर्ने अवस्था हुँदैन । त्यसैले प्रतिस्पर्धी बढ्दैमा आत्तिनु पर्दैन भनिएको हो ।
३. किन लेखक चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानका विषयमा रिपोर्ताज लेख्न अग्रसर भए ? लेख्नुहोस् ।
उत्तर :
जीवन मार्ग शीर्षकको रिपोर्ताजमूलक रचनामा राष्ट्रियताको भावना जगाउँदै उद्यमशीलताको चेतना अभिवृद्धि गर्ने मूल सन्देश प्रवाहित गरिएको छ । चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानले नेपालको मौलिकता, पहिचान, स्रोत साधन, श्रम र सिपको सदुपयोग गर्दै उत्पादित वस्तुलाई स्वदेश तथा विदेशमा लोकप्रिय बनाउँदै औद्योगिक सफलता हासिल गरेको तथ्य लेखकलाई अत्यन्त प्रभावित बनाएको छ ।
लेखकले आफ्नै घरभित्र चोमोलुङ्गा प्रतिष्ठानका उत्पादनहरूको बाहुल्य देखेका छन् । देशविदेशमा रहेका नेपालीका घरघरमा यस प्रतिष्ठानका सामान पुगेका छन् । नेपाल आउने विदेशीहरूले यस प्रतिष्ठानका सामान चिनोका रूपमा लैजान थालेका छन् । निर्यात हुने वस्तुमा चोमोलुङ्गा प्रतिष्ठानका उत्पादनको वर्चस्व बढ्दै गएको छ । यी सबै कारणले लेखक स्वाभाविक रूपमा प्रभावित भई चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानका विषयमा रिपोर्ताज लेख्न अग्रसर भएका हुन् ।
४. दिइएको रिपोर्ताज अंश पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) ‘देखासिकी गरी खा, आरिसे मरी जा’ भन्ने उखानको तात्पर्य के हो ?
उत्तर :
अरूले नाफा कमाएको देखेर त्यही व्यवसायको नक्कल गर्नु ठीक भए पनि अरूको प्रगतिमा रिस गर्नु राम्रो होइन । रिस, डाहा र जलनले आफैँलाई हानि पुर्याउँछ । सबैले एउटै काम गरेर सफल हुन सक्दैनन् । विकल्प खोज्नुपर्छ भन्ने सन्देश उक्त उखानले दिन्छ ।
(ख) जति धेरै उत्पादन त्यति धेरै फाइदाको अवस्थामा पुग्ने उपाय के हो ?
उत्तर :
पहिलो कुरा गुणस्तरमा सम्झौता गर्नु हुँदैन । दोस्रो कुरा स्वस्थ प्रतिस्पर्धा, सहकार्य र आदानप्रदानको संस्कृति विकास गर्नुपर्छ । यसरी अघि बढेमा जति धेरै उत्पादन, त्यति धेरै फाइदाको अवस्थामा पुग्न सकिन्छ ।
५. विभिन्न देशको भ्रमणबाट छिरिङले कस्तो शिक्षा पाए ? लेख्नुहोस् ।
उत्तर :
छिरिङले विभिन्न देशको भ्रमणबाट श्रमको महत्व बुझ्ने अवसर पाए । स्वदेशमै बसेर मौलिकता, पहिचान, स्रोत साधन, श्रम र सिपको सदुपयोग गरे आत्मनिर्भर बन्न सकिने शिक्षा पाए । नेपाली मौलिक उत्पादनलाई विश्व बजारमा पुर्याएर देशको विकास र समृद्धिमा योगदान गर्न सकिने सन्देश उनले भ्रमणबाट प्राप्त गरे ।
६. छिरिङको जीवन सङ्घर्षबाट के शिक्षा लिन सकिन्छ ? आफ्नो विचार लेख्नुहोस् ।
उत्तर :
छिरिङको जीवन सङ्घर्षबाट कठिन परिस्थितिमा पनि हार नमानी निरन्तर मेहनत गर्नुपर्छ भन्ने शिक्षा लिन सकिन्छ । स्वदेशमै रहेका स्रोत साधनको सदुपयोग गरी उद्यम गरे आत्मनिर्भर मात्र होइन, देशको विकासमा समेत योगदान दिन सकिन्छ । अनुत्पादक क्षेत्रमा लगानीभन्दा औद्योगिक क्षेत्रमा लगानी गर्नु श्रेयस्कर हुन्छ भन्ने सन्देश छिरिङको जीवनले दिन्छ ।
७. दिइएका उद्धरणको व्याख्या गर्नुहोस् :
(क) “हामीकहाँ नयाँ कुराको परिकल्पना गर्ने, जोखिम मोल्नेभन्दा पनि अरूले गरेको हेरेर त्यसैको अनुसरण गर्ने, अस्वस्थ प्रतिस्पर्धा गर्ने चलन छ ।”
उत्तर :
प्रस्तुत उद्धरण कक्षा १२ को नेपाली पाठ्यपुस्तकअन्तर्गत रहेको जीवन मार्ग शीर्षकको रिपोर्ताजमूलक रचनाबाट साभार गरिएको हो । यस उद्धरणमा नेपाली समाजमा विद्यमान गलत प्रवृत्तिप्रति सङ्केत गरिएको छ । नयाँ सोच, नयाँ परिकल्पना र जोखिम मोल्ने साहसको अभावका कारण धेरै मानिस अरूले गरेको देखेर त्यसैको नक्कल गर्न उद्यत हुन्छन् ।
मानिस सिर्जनशील प्राणी हो । नवीन सोच र रचनात्मक कार्यबाट नै व्यक्तिको मौलिकता र पहिचान स्थापित हुन्छ । नयाँ कुराको परिकल्पना गर्न ज्ञान, तर्कशक्ति, निर्णय क्षमता र जोखिम मोल्ने आँट आवश्यक पर्छ । परिकल्पनालाई मूर्त रूप दिन निरन्तर श्रम, समय र सम्पत्तिको लगानी गर्नुपर्छ । तर यस्ता कठिनाइबाट डराउनेहरू अरूको नक्कल गरी अस्वस्थ प्रतिस्पर्धामा लाग्ने गर्छन् ।
अरूको नक्कल गर्दा न त मौलिकता रहन्छ, न त दीर्घकालीन सफलता प्राप्त हुन्छ । एउटै व्यवसाय चलेको देखेपछि त्यही प्रकारका अनेक व्यवसाय खोल्ने प्रवृत्ति समाजमा व्याप्त छ, जसले अस्वस्थ प्रतिस्पर्धा बढाउँछ । प्रस्तुत उद्धरणले यस्तो प्रवृत्तिको आलोचना गर्दै मौलिक सोच, नवीन परिकल्पना र स्वस्थ प्रतिस्पर्धाको आवश्यकता औँल्याएको छ । स्थानीय स्रोत साधनको सदुपयोग गर्दै मौलिक उत्पादनमा लागेमा मात्र दिगो सफलता प्राप्त गर्न सकिन्छ भन्ने सन्देश यस उद्धरणले दिन्छ ।
(ख) “वास्तवमा कलम र हृदय दुवैको मेल भएपछि राम्रो लेख्न सकिने रहेछ ।”
उत्तर :
प्रस्तुत उद्धरणले साहित्य सिर्जनामा बौद्धिकता र भावनाको समान महत्व रहेको तथ्य स्पष्ट पारेको छ । केवल भावना भए पनि ज्ञान र बौद्धिक क्षमता नहुँदा ती भावनालाई शब्दमा उतार्न सकिँदैन । त्यस्तै केवल ज्ञान भएर भावनाको अभाव भएमा लेखन नीरस र प्रभावहीन हुन्छ ।
कलम ज्ञान, बौद्धिकता र तर्कशक्तिको प्रतीक हो भने हृदय भावना, अनुभूति र संवेदनाको केन्द्र हो । यी दुवैको सन्तुलित संयोजनबाट मात्र उत्कृष्ट साहित्य सिर्जना सम्भव हुन्छ । लेखकले आफ्ना अनुभव, विचार र भावनालाई बौद्धिक संयोजनका साथ कलममार्फत प्रस्तुत गर्दा साहित्य जीवन्त र प्रभावकारी बन्छ ।
जीवन मार्ग रिपोर्ताजमूलक रचनामा पनि लेखकले प्रत्यक्ष अनुभव, भावनात्मक अनुभूति र तथ्यपरक विवरणलाई कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । कलम र हृदयको मेल भएकै कारण यो रचना प्रेरणादायी, प्रभावशाली र पाठकको मन छुने बनेको छ । त्यसैले राम्रो लेखनका लागि भावना र ज्ञान दुवैको समन्वय अनिवार्य हुन्छ भन्ने सन्देश उक्त उद्धरणले दिन्छ ।
८. तपाईंलाई छिरिङसँगको वार्ताका आधारमा तयार पारिएको जीवन मार्ग कस्तो लाग्यो ? तर्कसहित आफ्नो विचार लेख्नुहोस् ।
उत्तर :
जीवन मार्ग रिपोर्ताज राष्ट्रभक्ति भाव झल्काउने, स्वदेशमा गरिने उद्यमप्रति सकारात्मक सोच विकास गराउने प्रेरणादायी रचना हो । रिपोर्ताज समसामयिक विषयमा आधारित भएर प्रत्यक्ष अनुभव र अवलोकनका आधारमा तयार पारिन्छ । यस रिपोर्ताजमा लेखकले छिरिङसँग प्रत्यक्ष वार्ता गरी, उनको जीवन सङ्घर्ष, सोच र उपलब्धिलाई तथ्यपरक तथा कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् ।
यो रचना पढ्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जागृत हुन्छ । नेपाली मौलिकता, पहिचान र स्थानीय स्रोत साधनको सदुपयोग गरी उद्योग स्थापना गर्ने छिरिङको सोच अत्यन्त प्रशंसनीय लाग्छ । चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानका उत्पादन स्वदेश तथा विदेशमा लोकप्रिय हुनु गर्वको विषय हो । छिरिङको अथक सङ्घर्ष, लगनशीलता र दृढ इच्छाशक्तिले पाठकलाई उद्यमशील बन्न प्रेरित गर्छ ।
भाषा सरल, विषयवस्तु प्रेरणादायी र प्रस्तुति प्रभावशाली भएकाले जीवन मार्ग शीर्षकअनुरूप धेरैका लागि साँच्चिकै जीवनको मार्गदर्शक बन्न सक्छ । त्यसैले तर्कसहित भन्न सकिन्छ कि जीवन मार्ग एक उत्कृष्ट, प्रेरणादायी र उपयोगी रिपोर्ताजमूलक रचना हो ।
९. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) ओलम्पिक खेलमा नेपालको प्रवेश कहिले र कहाँबाट भएको हो ?
उत्तर :
ओलम्पिक खेलमा नेपालको प्रवेश सन् १९६४ मा टोकियो ओलम्पिकबाट भएको हो ।
(ख) ओलम्पिकमा नेपालको सहभागिता कुन कुन खेलमा हुने गरेको छ ?
उत्तर :
ओलम्पिकमा नेपालको सहभागिता म्याराथुन, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, तेक्वान्दो, सुटिङ, पौडी र जुडो खेलमा हुने गरेको छ ।
(ग) सन् १९८० को मास्को ओलम्पिकमा कति जना नेपाली खेलाडीले भाग लिए ?
उत्तर :
सन् १९८० को मास्को ओलम्पिकमा १२ जना नेपाली खेलाडीले भाग लिएका थिए ।
(घ) नेपालले ओलम्पिक खेलमा पाएको सफलता कस्तो छ ?
उत्तर :
नेपालले ओलम्पिक खेलमा पाएको सफलता ऐतिहासिक तथा उत्साहवर्द्धक रहेको छ ।
१०. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिपी एक तिहाइमा नबढ्ने गरेर सारांश लेख्नुहोस् ।
बुँदा टिपोट :
-
परापूर्वकालदेखि समाजमा प्रचलित लोककला पुस्तान्तरण हुँदै आएको
-
नेपालमा थारु, मैथिली, नेवारी, पर्वते, किरात, राजवंशी आदि लोककला प्रचलित
-
थारु लोककलामा चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकला आदिको प्रयोग
-
लोककलाको मुख्य उद्देश्य जीवनलाई सुमधुर बनाउनु
सारांश :
नेपालमा परापूर्वकालदेखि विभिन्न जातजातिका लोककला पुस्तान्तरण हुँदै आएका छन् । थारु, मैथिली, नेवारी, किरात, राजवंशी आदि समुदायका लोककलाले नेपाली समाजको पहिचान झल्काउँछन् । थारु लोककलामा चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकला आदिको विशेष स्थान रहेको छ । यस्ता लोककलाको मूल उद्देश्य मानव जीवनलाई सुन्दर, सुमधुर र अर्थपूर्ण बनाउनु हो ।
सारांशमा शब्द संख्या: ४३