NEB Class 12 Nepali Chapter 12 Jeevan Marg (जीवन मार्ग) Exercise Questions and Answers

Read complete exercise questions and answers of Class 12 Nepali Chapter 12 ‘Jeevan Marg (जीवन मार्ग)’ based on NEB new syllabus.

neb-class-12-nepali-chapter-12-jeevan-marg-exercise-questions-answers

NEB Class 12 Nepali Chapter 12 Jeevan Marg (जीवन मार्ग) Exercise Questions and Answers

NEB Class 12 Nepali Chapter 12 Jeevan Marg (जीवन मार्ग) पाठले जीवनको यात्रा, निर्णय र दार्शनिक दृष्टिकोणहरूको विश्लेषण प्रस्तुत गर्दछ। यसले विद्यार्थीलाई आत्म–चिन्तन र मूल्यपरक शिक्षा बुझ्न मद्दत पुर्‍याउँछ।

Jiban Marga is a powerful reportage-based chapter included in the Class 12 Nepali syllabus that presents a realistic and motivating portrayal of entrepreneurship, struggle, and self-reliance in Nepal. The chapter revolves around the life journey of Chiring, a determined individual born into a financially weak family who faces responsibility and hardship from an early age. After losing his father, Chiring is forced to balance education with labor, gradually learning the value of discipline, hard work, and persistence. 

His exposure to different professions and foreign countries helps him understand the dignity of labor and the importance of productivity rather than short-term profit. Instead of engaging in land plotting or speculative business that destroys agricultural land, Chiring chooses a meaningful path by establishing the Chomolungma Industrial Establishment, an enterprise based on Nepal’s local resources, traditional skills, and cultural identity. 

The chapter strongly highlights how originality, organic production, quality control, and ethical entrepreneurship can open national and international markets while creating employment and strengthening the country’s economy. Jiban Marga clearly delivers the message that blind imitation and unhealthy competition lead to failure, whereas creativity, collaboration, risk-taking, and long-term vision lead to sustainable success. 

Overall, the chapter serves as a roadmap for youth, encouraging them to believe that real progress is possible within Nepal through innovation, perseverance, and respect for indigenous knowledge.

जीवन मार्ग : सारांश

जीवन मार्ग कक्षा १२ को नेपाली पाठ्यक्रममा समावेश गरिएको एक प्रभावशाली रिपोर्टाजमूलक रचना हो, जसले नेपाली समाजमा उद्यमशीलता, आत्मनिर्भरता र श्रमको महत्त्वलाई यथार्थपरक ढङ्गले उजागर गर्छ। 

यस पाठको केन्द्रमा छिरिङ नामक पात्रको जीवन सङ्घर्ष छ, जो आर्थिक रूपमा कमजोर परिवारमा जन्मिएर सानै उमेरदेखि जिम्मेवारी बोक्न बाध्य हुन्छ। बुबाको निधनपछि शिक्षा र जीवनयापन दुवैलाई सँगसँगै अघि बढाउँदै उनले परिश्रम, धैर्य र दृढ इच्छाशक्तिको मूल्य बुझ्छन्। विभिन्न पेशा र विदेश भ्रमणबाट प्राप्त अनुभवले छिरिङलाई श्रमको सम्मान, समयको सदुपयोग र दीर्घकालीन सोचको महत्व सिकाउँछ। जग्गा प्लटिङजस्ता अनुत्पादक व्यवसायप्रति आकर्षित नहुई उनले नेपाली मौलिकता, स्थानीय स्रोतसाधन र परम्परागत सीपको उपयोग गर्दै चोमोलुङ्गा औद्योगिक प्रतिष्ठान स्थापना गर्छन्। 

यस प्रतिष्ठानबाट उत्पादित प्राकृतिक, अर्गानिक र सांस्कृतिक पहिचान बोकेका वस्तुहरू स्वदेश तथा विदेशमा लोकप्रिय बन्छन्, जसले रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ। पाठले अरूको नक्कल गर्ने प्रवृत्तिको आलोचना गर्दै मौलिक सोच, स्वस्थ प्रतिस्पर्धा, सहकार्य र जोखिम मोल्ने साहसलाई सफल जीवनको आधार मानेको छ। 

यसरी जीवन मार्ग नेपाली युवालाई “स्वदेशमै सम्भावना छ” भन्ने आत्मविश्वास जगाउँदै संघर्ष, श्रम र सृजनशीलताबाट नै साँचो समृद्धि सम्भव हुन्छ भन्ने सशक्त सन्देश दिन्छ।

👉 Read NEB Class 12 Nepali All Chapter Notes

शब्दभण्डार

१. शब्द र अर्थका बिचमा जोडा मिलाउनुहोस् :

शब्द — अर्थ

  • मौलिक — कसैको आधार नलिएको, सिर्जनात्मक

  • बाहुल्य — धेरै हुनाको भाव वा अवस्था

  • जतन — सुरक्षित

  • चिनो — चिह्न, निसान

  • निर्यात — स्वदेशबाट विदेशमा सामान पठाउने काम

  • वर्चस्व — आफ्नो अधिकार कुरामा गरिने दखल

  • मूर्त — स्पष्ट आकार भएको

  • किनिमा — भटमासबाट बनाइएको एक प्रकारको परिकार

  • मकर नुहाउनु — माघे सङ्क्रान्तिमा नुहाउने काम

  • हस्तक्षेप — निय अधिकार

  • फत्ते — सम्पन्न, पूरा

२. तल पाठमा भएका खानेकुराका नामको सूची दिइएको छ । शिक्षकको सहयोगबाट ती खानेकुराका बारेमा थाहा पाउनुहोस् ।

उत्तर :

  • कटुसका दिउल — कटुसको फग्ल्याँटो, विजन, बियाँ

  • सतीबयर — भेट्नैपिच्छे तीनतीन वटा पात लाग्ने, मसिना अमिला दाना फल्ने एक फल

  • सिन्की — गोल्फु, घंटो आदिमा खाँदर अमिल्याइएर झिकेको र झोलिलो तिहुन खाइने वस्तु (गुन्द्रुक)

  • सुचियाः — नुन हालेर पकाइएको चिया

  • मार्सी चामल — उच्च पहाडी भेगमा फल्ने हल्का खैरो रङको असल चामल

  • गहत — दाल जातको लहरो वा त्यसैको कोसामा फल्ने चेप्टो आकारको गेडादार अन्न

  • बुङको आलु — माटो र खरानीमा फल्ने आलु

  • पिँडालु — कलिला पात गाभाको रूपमा र जरामा फल्ने गानु, उसिनेर वा तरकारी पकाएर खाइने

  • जिम्बु — गुन्द्रुक जस्तै देखिने, घिउ तेलमा फुराएर दाल झान्ने काममा प्रयोग गरिने वनस्पति

३. शिक्षक र साथीसँग सोधखोज गरेर दिइएका सामानका बारेमा थाहा पाउनुहोस् :

उत्तर :

  • काइँयो : कपाल कोर्न र मिलाउन प्रयोग गरिने साधन

  • थाक्रो : काँको, घिरौंला, सिमी आदि लहरे तरकारीलाई झ्याँगिन आडस्वरूप भुइँमा गाडिने रुखको हाँगा

  • फिपी : बेत, बाँस आदि चोयाले बुनेको बिर्कोवाला भाँडो

  • नाङ्लो : अन्न केलाउने साधन (सुपो)

  • डालो : अन्नपात हाल्ने फराक मुख भएको केही गहिरो भाँडो

  • चाल्नो : पिठो आदि छान्न बनाइएको मसिना प्वाल भएको साधन

  • गलैंचा : सुतीको डोरी, भेडाको ऊन आदि प्रयोग गरी विभिन्न रङका बुट्टा पारेर बुनिने बाक्लो र नरम बिछ्यौना

  • राडी : नेपाली ऊनबाट बुनिने काम्लोजस्तो खस्रो बिछ्याइने कपडा

  • लुकुनी : मिहीन राडीबाट सिएर तयार पारिएको जीउमा लगाउने कपडा

  • थाङ्का : कागज वा कपडामा बनाइने एक प्रकारको चित्र

  • खाँडीको कपडा : घरेलु तानमा बुनिएको खस्रो कपडा

  • भाङ्ग्राको झोला : भाङ्ग्राबाट बुनेको बोराजस्तो खस्रो झोला

  • बाँसका कुर्सी : बाँसका काण्ड प्रयोग गरी बनाइएका बस्न मिल्ने साधन

  • सोफा : काठको आधार, फोम र कपडाको आवरण प्रयोग गरी बनाइएको आरामदायी बस्ने साधन

  • थुन्से : सामान बोक्न बाँस वा निगालाको चोयाले बुनेको प्वाल नभएको डोकोजस्तो साधन

  • अम्रिसाको कुचो : बढार्न प्रयोग गरिने साधन

  • नेपाली कागज : नरिचो, अल्लो आदिबाट नेपालमा बनेको कागज

  • ठेकी : दही, मही, घिउ, तेल राखिने काठको भाँडो

  • मदानी : दही मथी मही पार्ने साधन

  • सुरो : पूजामा होम गर्दा आगामा घिउ हाल्न प्रयोग गरिने खयर काठको लट्ठी

४. दिइएका शब्दको अर्थ लेख्नुहोस् ।

उत्तर :

  • परिकल्पनाकार : पछि सिद्ध हुन सक्ने कुराको पहिले नै अड्कल गर्ने व्यक्ति

  • आना : चार पैसाको समुदाय, रूपैयाँको पच्चिसौँ भाग

  • धुर : एक कट्ठाको बिसौँ भाग जमिनको परिमाण

  • आत्मनिर्भर : अरूको भर नपरी आफ्नै बलमा बाँच्ने

  • आयात : विदेशबाट मालसामान भित्र्याउने काम

  • एकाधिकार : कुनै काम वा व्यापारमा एउटै व्यक्तिको पूर्ण अधिकार

  • कृत्रिम : प्राकृतिक नभएको, बनावटी

  • अर्गानिक : जैविक प्रक्रियाबाट उत्पादित

  • जोखिम : हानिनोक्सानी हुन सक्ने अवस्था

  • विकल्प : धेरैमध्ये एउटा छान्ने काम

५. शब्दकोशको सहायताबाट तलका शब्दको शब्दवर्ग, शब्दस्रोत र अर्थ लेख्नुहोस् :

शब्द शब्दवर्ग शब्दस्रोत अर्थ
असल विशेषण अरबी राम्रो, उत्तम
विकास नाम संस्कृत उन्नति
इष्ट विशेषण संस्कृत इच्छा गरिएको
स्कुल नाम अङ्ग्रेजी विद्यालय
चिया नाम चीनदेशीय पेय पदार्थ

६. दिइएका कुनै पाँचओटा उखानलाई वाक्यमा प्रयोग गरी कक्षामा सुनाउनुहोस् ।

  • उत्तर :

  • हात्तीका मुखमा जिरा
    दुई दिनदेखिको भोको मान्छेलाई एक टुका स्याउ त हात्तीका मुखमा जिरा जस्तै हो ।

  • काम गर्ने कालु मकै खाने भालु
    विदेशी भूमिमा हर्केले पसिना बगाएर कमाएको पैसाले गाउँमा उसकी स्वास्नीले मस्ती गरेर बसेकी छ । यो त काम गर्ने कालु मकै खाने भालु जस्तै भएन र !

  • खाने मुखलाई जुँघाले छेक्दैन
    खाने मुखलाई जुँघाले छेक्दैन भनेझैँ सुशान्तले बत्ती गएको बेला मैनबत्ती बालेर पनि पढ्छ ।

  • गर्ने भन्ने हनुमान्, पगरी गुथ्ने ढेडु
    गाउँलेले श्रमदानबाट बाटो खने तर जसजति वडाध्यक्षले पाए, यो त गर्ने भन्ने हनुमान् पगरी गुथ्ने ढेडु जस्तै भयो ।

  • घाँटी हेरी हाड निल्नु
    घाँटी हेरी हाड निल्नु भनेझैँ हामीले आम्दानी हेरेर खर्च गर्नुपर्छ ।

  • बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन
    बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भनेझैँ मिठो बोलेर ग्राहकको मन जितेपछि धेरै व्यापार गर्न सकिन्छ ।

  • मेरो गोरुको बाह्रै टक्का
    मेरो गोरुको बाह्रै टक्का भनेझैँ हाम्रा नेताहरू आफ्नो कुरा मात्र सही ठान्छन् ।

  • म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो
    जागिरबाट जिन्दगी नचलेर व्यापार गर्न थालेको थिएँ, यसमा पनि उल्टै घाटा मात्र भयो । यो त म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो जस्तै भयो ।

  • रातभरि करायो, दक्षिणा हरायो
    दिनभर काम गरेर पनि साहुले खाना समेत दिएन । यो त रातभरि करायो दक्षिणा हरायो जस्तै भयो ।

  • हुने बिरुवाको चिल्लो पात
    हुने बिरुवाको चिल्लो पात भनेझैँ केशब सानैदेखि अध्ययनमा निकै चासो दिन्छ ।

  • हात्ती आयो हात्ती आयो फुस्सा
    विदेशबाट दाइ आउँदा धेरै कुरा ल्याइदिनुहुन्छ होला भन्ने लागेको थियो, केही पनि ल्याइदिनुभएन । यो त हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भयो ।

  • एकले थुकी सुकी, सयले थुकी नदी
    एकले थुकी सुकी सयले थुकी नदी भनेझैँ देश विकासको काम एक्लैले सम्भव हुँदैन, सबै मिलेर गर्नुपर्छ ।

  • नमच्चिने पिङको सय झट्का
    खुब राम्रो क्रिकेट खेल्छु भन्ने रोशन शून्य रनमै आउट भयो । यो त नमच्चिने पिङको सय झट्का जस्तै भयो ।

बोध र अभिव्यक्ति

१. रिपोर्ताज पाठ पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) चोमोलुङ्गा औद्योगिक प्रतिष्ठान कस्तो प्रतिष्ठान हो ?

उत्तर :
चोमोलुङ्गा औद्योगिक प्रतिष्ठान विगत पाँच वर्षदेखि स्थानीय कच्चा पदार्थको प्रयोग गरी नेपालको मौलिकता र पहिचानमा आधारित वस्तुको उत्पादन गरी स्वदेश र विदेशमा बिक्री वितरण गर्ने लोकप्रिय औद्योगिक प्रतिष्ठान हो ।

(ख) चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानबाट बिक्री गरिने सामान किन लोकप्रिय भए ?

उत्तर :
चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानबाट बिक्री गरिने सामान नेपालको मौलिकता र पहिचानमा आधारित भएकाले लोकप्रिय भएका हुन् ।

(ग) छिरिङको पारिवारिक पृष्ठभूमि कस्तो छ ?

उत्तर :
छिरिङको परिवारमा छिरिङ, बाबाआमा र भाइबहिनीहरू छन् । थोरै मात्र भएको जग्गाजमिनको उब्जनीले तीन चार महिना पनि धान्दैनथ्यो । बुबाले भारी बोकेर अनि आमाले बनीबुतो गरेर उनीहरूको जीवन जेनतेन चलेको हुनाले आर्थिक दृष्टिकोणले दयनीय छिरिङको न्यून मध्यम वर्गीय पारिवारिक पृष्ठभूमि कमजोर छ ।

(घ) किन छिरिङलाई जग्गा प्लटिङ व्यवसाय ठिक लागेन ?

उत्तर :
जग्गा प्लटिङ व्यवसायबाट पैसा कमाइए पनि खेतीयोग्य जमिन मासिने, कङ्क्रिटको जङ्गल विस्तार हुने र नेपालीले वर्षौँ दुःख गरेर कमाएको पैसा बर्बाद हुने भएकाले छिरिङलाई जग्गा प्लटिङ व्यवसाय ठिक लागेन ।

२. दिइएको रिपोर्ताज अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) नेपाली मौलिक उत्पादनको बजार कस्तो छ ?

उत्तर :
नेपालीहरू विश्वको जुनसुकै कुनामा पुगे पनि आफ्नो मौलिकता र पहिचान भुलेका छैनन् । उनीहरू उपलब्ध भएसम्म आफ्ना मौलिक वस्तुको उपभोग गर्न रुचाउँछन् । आज विश्वभर कृत्रिम र विषादीयुक्त खानपानका कारण अनेक रोग निम्तिएका छन् । नेपालजस्तो प्रकृतिले भरिएको देशमा अर्गानिक तथा प्राकृतिक वस्तुको उत्पादन गर्न सकियो भने नेपाली मौलिक उत्पादन संसारभर बिक्री हुन सक्छ । त्यसैले नेपाली मौलिक उत्पादनको बजार प्रशस्त सम्भावनायुक्त छ ।

(ख) पाठमा प्रतिस्पर्धी थपिँदैमा आत्तिनु पर्दैन किन भनिएको हो ?

उत्तर :
बजारको विस्तारसँगै कुनै एउटा उद्योगका उत्पादनले मात्र सबैको माग र आवश्यकता पूरा गर्न सक्दैन । गुणस्तरीय मौलिक वस्तु उत्पादन गर्न सकिएमा प्रतिस्पर्धी थपिँदैमा डराउनुपर्ने अवस्था हुँदैन । त्यसैले प्रतिस्पर्धी बढ्दैमा आत्तिनु पर्दैन भनिएको हो ।

३. किन लेखक चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानका विषयमा रिपोर्ताज लेख्न अग्रसर भए ? लेख्नुहोस् ।

उत्तर :
जीवन मार्ग शीर्षकको रिपोर्ताजमूलक रचनामा राष्ट्रियताको भावना जगाउँदै उद्यमशीलताको चेतना अभिवृद्धि गर्ने मूल सन्देश प्रवाहित गरिएको छ । चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानले नेपालको मौलिकता, पहिचान, स्रोत साधन, श्रम र सिपको सदुपयोग गर्दै उत्पादित वस्तुलाई स्वदेश तथा विदेशमा लोकप्रिय बनाउँदै औद्योगिक सफलता हासिल गरेको तथ्य लेखकलाई अत्यन्त प्रभावित बनाएको छ ।

लेखकले आफ्नै घरभित्र चोमोलुङ्गा प्रतिष्ठानका उत्पादनहरूको बाहुल्य देखेका छन् । देशविदेशमा रहेका नेपालीका घरघरमा यस प्रतिष्ठानका सामान पुगेका छन् । नेपाल आउने विदेशीहरूले यस प्रतिष्ठानका सामान चिनोका रूपमा लैजान थालेका छन् । निर्यात हुने वस्तुमा चोमोलुङ्गा प्रतिष्ठानका उत्पादनको वर्चस्व बढ्दै गएको छ । यी सबै कारणले लेखक स्वाभाविक रूपमा प्रभावित भई चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानका विषयमा रिपोर्ताज लेख्न अग्रसर भएका हुन् ।

४. दिइएको रिपोर्ताज अंश पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) ‘देखासिकी गरी खा, आरिसे मरी जा’ भन्ने उखानको तात्पर्य के हो ?

उत्तर :
अरूले नाफा कमाएको देखेर त्यही व्यवसायको नक्कल गर्नु ठीक भए पनि अरूको प्रगतिमा रिस गर्नु राम्रो होइन । रिस, डाहा र जलनले आफैँलाई हानि पुर्‍याउँछ । सबैले एउटै काम गरेर सफल हुन सक्दैनन् । विकल्प खोज्नुपर्छ भन्ने सन्देश उक्त उखानले दिन्छ ।

(ख) जति धेरै उत्पादन त्यति धेरै फाइदाको अवस्थामा पुग्ने उपाय के हो ?

उत्तर :
पहिलो कुरा गुणस्तरमा सम्झौता गर्नु हुँदैन । दोस्रो कुरा स्वस्थ प्रतिस्पर्धा, सहकार्य र आदानप्रदानको संस्कृति विकास गर्नुपर्छ । यसरी अघि बढेमा जति धेरै उत्पादन, त्यति धेरै फाइदाको अवस्थामा पुग्न सकिन्छ ।

५. विभिन्न देशको भ्रमणबाट छिरिङले कस्तो शिक्षा पाए ? लेख्नुहोस् ।

उत्तर :
छिरिङले विभिन्न देशको भ्रमणबाट श्रमको महत्व बुझ्ने अवसर पाए । स्वदेशमै बसेर मौलिकता, पहिचान, स्रोत साधन, श्रम र सिपको सदुपयोग गरे आत्मनिर्भर बन्न सकिने शिक्षा पाए । नेपाली मौलिक उत्पादनलाई विश्व बजारमा पुर्‍याएर देशको विकास र समृद्धिमा योगदान गर्न सकिने सन्देश उनले भ्रमणबाट प्राप्त गरे ।

६. छिरिङको जीवन सङ्घर्षबाट के शिक्षा लिन सकिन्छ ? आफ्नो विचार लेख्नुहोस् ।

उत्तर :
छिरिङको जीवन सङ्घर्षबाट कठिन परिस्थितिमा पनि हार नमानी निरन्तर मेहनत गर्नुपर्छ भन्ने शिक्षा लिन सकिन्छ । स्वदेशमै रहेका स्रोत साधनको सदुपयोग गरी उद्यम गरे आत्मनिर्भर मात्र होइन, देशको विकासमा समेत योगदान दिन सकिन्छ । अनुत्पादक क्षेत्रमा लगानीभन्दा औद्योगिक क्षेत्रमा लगानी गर्नु श्रेयस्कर हुन्छ भन्ने सन्देश छिरिङको जीवनले दिन्छ ।

७. दिइएका उद्धरणको व्याख्या गर्नुहोस् :

(क) “हामीकहाँ नयाँ कुराको परिकल्पना गर्ने, जोखिम मोल्नेभन्दा पनि अरूले गरेको हेरेर त्यसैको अनुसरण गर्ने, अस्वस्थ प्रतिस्पर्धा गर्ने चलन छ ।”

उत्तर :
प्रस्तुत उद्धरण कक्षा १२ को नेपाली पाठ्यपुस्तकअन्तर्गत रहेको जीवन मार्ग शीर्षकको रिपोर्ताजमूलक रचनाबाट साभार गरिएको हो । यस उद्धरणमा नेपाली समाजमा विद्यमान गलत प्रवृत्तिप्रति सङ्केत गरिएको छ । नयाँ सोच, नयाँ परिकल्पना र जोखिम मोल्ने साहसको अभावका कारण धेरै मानिस अरूले गरेको देखेर त्यसैको नक्कल गर्न उद्यत हुन्छन् ।

मानिस सिर्जनशील प्राणी हो । नवीन सोच र रचनात्मक कार्यबाट नै व्यक्तिको मौलिकता र पहिचान स्थापित हुन्छ । नयाँ कुराको परिकल्पना गर्न ज्ञान, तर्कशक्ति, निर्णय क्षमता र जोखिम मोल्ने आँट आवश्यक पर्छ । परिकल्पनालाई मूर्त रूप दिन निरन्तर श्रम, समय र सम्पत्तिको लगानी गर्नुपर्छ । तर यस्ता कठिनाइबाट डराउनेहरू अरूको नक्कल गरी अस्वस्थ प्रतिस्पर्धामा लाग्ने गर्छन् ।

अरूको नक्कल गर्दा न त मौलिकता रहन्छ, न त दीर्घकालीन सफलता प्राप्त हुन्छ । एउटै व्यवसाय चलेको देखेपछि त्यही प्रकारका अनेक व्यवसाय खोल्ने प्रवृत्ति समाजमा व्याप्त छ, जसले अस्वस्थ प्रतिस्पर्धा बढाउँछ । प्रस्तुत उद्धरणले यस्तो प्रवृत्तिको आलोचना गर्दै मौलिक सोच, नवीन परिकल्पना र स्वस्थ प्रतिस्पर्धाको आवश्यकता औँल्याएको छ । स्थानीय स्रोत साधनको सदुपयोग गर्दै मौलिक उत्पादनमा लागेमा मात्र दिगो सफलता प्राप्त गर्न सकिन्छ भन्ने सन्देश यस उद्धरणले दिन्छ ।

(ख) “वास्तवमा कलम र हृदय दुवैको मेल भएपछि राम्रो लेख्न सकिने रहेछ ।”

उत्तर :
प्रस्तुत उद्धरणले साहित्य सिर्जनामा बौद्धिकता र भावनाको समान महत्व रहेको तथ्य स्पष्ट पारेको छ । केवल भावना भए पनि ज्ञान र बौद्धिक क्षमता नहुँदा ती भावनालाई शब्दमा उतार्न सकिँदैन । त्यस्तै केवल ज्ञान भएर भावनाको अभाव भएमा लेखन नीरस र प्रभावहीन हुन्छ ।

कलम ज्ञान, बौद्धिकता र तर्कशक्तिको प्रतीक हो भने हृदय भावना, अनुभूति र संवेदनाको केन्द्र हो । यी दुवैको सन्तुलित संयोजनबाट मात्र उत्कृष्ट साहित्य सिर्जना सम्भव हुन्छ । लेखकले आफ्ना अनुभव, विचार र भावनालाई बौद्धिक संयोजनका साथ कलममार्फत प्रस्तुत गर्दा साहित्य जीवन्त र प्रभावकारी बन्छ ।

जीवन मार्ग रिपोर्ताजमूलक रचनामा पनि लेखकले प्रत्यक्ष अनुभव, भावनात्मक अनुभूति र तथ्यपरक विवरणलाई कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । कलम र हृदयको मेल भएकै कारण यो रचना प्रेरणादायी, प्रभावशाली र पाठकको मन छुने बनेको छ । त्यसैले राम्रो लेखनका लागि भावना र ज्ञान दुवैको समन्वय अनिवार्य हुन्छ भन्ने सन्देश उक्त उद्धरणले दिन्छ ।

८. तपाईंलाई छिरिङसँगको वार्ताका आधारमा तयार पारिएको जीवन मार्ग कस्तो लाग्यो ? तर्कसहित आफ्नो विचार लेख्नुहोस् ।

उत्तर :
जीवन मार्ग रिपोर्ताज राष्ट्रभक्ति भाव झल्काउने, स्वदेशमा गरिने उद्यमप्रति सकारात्मक सोच विकास गराउने प्रेरणादायी रचना हो । रिपोर्ताज समसामयिक विषयमा आधारित भएर प्रत्यक्ष अनुभव र अवलोकनका आधारमा तयार पारिन्छ । यस रिपोर्ताजमा लेखकले छिरिङसँग प्रत्यक्ष वार्ता गरी, उनको जीवन सङ्घर्ष, सोच र उपलब्धिलाई तथ्यपरक तथा कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् ।

यो रचना पढ्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जागृत हुन्छ । नेपाली मौलिकता, पहिचान र स्थानीय स्रोत साधनको सदुपयोग गरी उद्योग स्थापना गर्ने छिरिङको सोच अत्यन्त प्रशंसनीय लाग्छ । चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानका उत्पादन स्वदेश तथा विदेशमा लोकप्रिय हुनु गर्वको विषय हो । छिरिङको अथक सङ्घर्ष, लगनशीलता र दृढ इच्छाशक्तिले पाठकलाई उद्यमशील बन्न प्रेरित गर्छ ।

भाषा सरल, विषयवस्तु प्रेरणादायी र प्रस्तुति प्रभावशाली भएकाले जीवन मार्ग शीर्षकअनुरूप धेरैका लागि साँच्चिकै जीवनको मार्गदर्शक बन्न सक्छ । त्यसैले तर्कसहित भन्न सकिन्छ कि जीवन मार्ग एक उत्कृष्ट, प्रेरणादायी र उपयोगी रिपोर्ताजमूलक रचना हो ।

९. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) ओलम्पिक खेलमा नेपालको प्रवेश कहिले र कहाँबाट भएको हो ?

उत्तर :
ओलम्पिक खेलमा नेपालको प्रवेश सन् १९६४ मा टोकियो ओलम्पिकबाट भएको हो ।

(ख) ओलम्पिकमा नेपालको सहभागिता कुन कुन खेलमा हुने गरेको छ ?

उत्तर :
ओलम्पिकमा नेपालको सहभागिता म्याराथुन, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, तेक्वान्दो, सुटिङ, पौडी र जुडो खेलमा हुने गरेको छ ।

(ग) सन् १९८० को मास्को ओलम्पिकमा कति जना नेपाली खेलाडीले भाग लिए ?

उत्तर :
सन् १९८० को मास्को ओलम्पिकमा १२ जना नेपाली खेलाडीले भाग लिएका थिए ।

(घ) नेपालले ओलम्पिक खेलमा पाएको सफलता कस्तो छ ?

उत्तर :
नेपालले ओलम्पिक खेलमा पाएको सफलता ऐतिहासिक तथा उत्साहवर्द्धक रहेको छ ।

१०. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिपी एक तिहाइमा नबढ्ने गरेर सारांश लेख्नुहोस् ।

बुँदा टिपोट :

  • परापूर्वकालदेखि समाजमा प्रचलित लोककला पुस्तान्तरण हुँदै आएको

  • नेपालमा थारु, मैथिली, नेवारी, पर्वते, किरात, राजवंशी आदि लोककला प्रचलित

  • थारु लोककलामा चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकला आदिको प्रयोग

  • लोककलाको मुख्य उद्देश्य जीवनलाई सुमधुर बनाउनु

सारांश :

नेपालमा परापूर्वकालदेखि विभिन्न जातजातिका लोककला पुस्तान्तरण हुँदै आएका छन् । थारु, मैथिली, नेवारी, किरात, राजवंशी आदि समुदायका लोककलाले नेपाली समाजको पहिचान झल्काउँछन् । थारु लोककलामा चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकला आदिको विशेष स्थान रहेको छ । यस्ता लोककलाको मूल उद्देश्य मानव जीवनलाई सुन्दर, सुमधुर र अर्थपूर्ण बनाउनु हो ।

सारांशमा शब्द संख्या: ४३ 

Powered by Google Blogger | VIP

×